काठमाडौं– नेपाली स्पिनर सन्दीप लामिछानेले क्यारेवियन प्रिमियर लिग(सीपीएल)मा दुई खेल खेल्दै शनसनी मच्चाइसकेका छन्। विहानीले दिनको संकेत गर्छ भनेजस्तै उनले बार्बाडोस ट्राईडेन्टसको लागि खेलेको पहिलो खेलमा १ ओभर बलिङ गर्दा मात्र ५ रन दिएका थिए।
अन्य बलरहरु महँगो भएको अवस्थामा उनलाई सो खेलमा कप्तानले अरु ओभर बलिङ गर्न नदिनु गलत निर्णय भएको सन्दीपले दोस्रो खेलमा प्रमाणित गरिदिए। सन्दीपले दोस्रो खेलमा ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिएका थिए। उनी उक्त खेलको म्यान अफ द म्यान पनि चुनिए। सो खेलमा सन्दीपको उत्कृष्ट प्रदर्शनले नै बार्बाडोसले पहिलो जित निकालेको थियो।
सन्दीपको टिमले आज लिगमा तेस्रो खेल खेल्दैछ। सन्दीप प्लेइङ ११ मा पर्ने लगभग निश्चित नै छ। आजको खेलमा बार्बाडोसले जमैका तल्लावाह्सको सामना गर्ने छ। जमैकामा उत्कृष्ट ब्याट्सम्यान छन्। ती मध्येका एक हुन क्रिस गेल। क्रिस गेल विशवको बिस्फोटक ब्याट्सम्यान हुन्। उनले विश्व क्रिकेट थुप्रै रेकर्डहरु पनि बनाएका छन्।
गेल तथा जमैकाका अन्य ब्याट्सम्यानविरुद्ध सन्दीपले कस्तो खेल्नेछन्, सबैमा कौतुहलता छ, विशेषगरी नेपालीहरुमा। सन्दीपले आज सीपीएलमा अर्को एक परीक्षा दिन लागेको बुझ्न सकिन्छ। विश्वस्तरिय ब्याट्समयानविरुद्द उनले गर्ने प्रदर्शनले उनको भावी क्रिकेट यात्रालाई प्रभाव पार्न सक्छ। त्यसैले आज पनि उनीसामु अवसर र चुनौती दुबै छ। खेल नेपाली समयअनुसार आज राती १०ः४५ बजे शुरु हुनेछ।