काठमाडौं– नेपाल क्रिकेट संघ(क्यान) लामो समयदेखि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को निलम्बनमा छ। क्यान निलम्बन भएको तीन बर्षभन्दा पनि बढी भइसकेको हुँदा नेपाली क्रिकेट अभिभावकविहीन बनिरहेको छ।
नेपाली क्रिकेटको आन्तरिक किचलोका कारण क्यान निलम्बनमा परेको थियो। यसैबीच आइसीसीले क्यानको निलम्बन फुकुवा गर्न सक्ने अनुमान पनि गरिएका थिए। तर पटकपटक बसेको आइसीसीको बैठकले त्यस्तो निर्णय भने गरेन। अहिले राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेशकुमार सिलावल र आईसीसी प्रतिनिधिबीच सोमबार भएको वार्ताले भने फेरी क्यान फुकुवाकाे आशा जगाएको छ।
यसअघि आइसिसीबाट गठित ६ सदस्यीय स्वतन्त्र समितिले असोज ३ र ४ गते क्यानको निर्वाचन तय गरेकाे थियाे तर राखेपका सदस्य सचिव यस कुरामा असहमत भएको कारण उनले आईसीसी प्रतिनिधिलाई नेपाल बोलाएर छलफल गरेका छन्। उक्त छलफलमा क्यानको साधारण सभा असोज १० र ११ गते गर्ने सहमति भएको बताइएको छ।
सो वार्तामा क्यानको निर्वाचन असोज १० र ११ गते गर्ने, क्यानको निर्वाचन निष्पक्ष, पारदर्शी र स्वतन्त्र रुपमा गराउने, क्यानको निलम्बन फुकुवाको लागि पहल गर्ने, नेपाली क्रिकेटको विकासका लागि आवश्यक कदममहरु चाल्ने आदि विषयमा पनि सहमति भएको बुझिएको छ। यदि त्यसो भएमा आइसीसीको अक्टोबरमा बस्ने बैठकले क्यानको निलम्बन फुकुवा गर्ने आशा गरिएको छ।