एजेन्सी–फुटबल जगतमा निकै प्रतिस्पर्धात्मक मानिन्छ यूइएफए च्याम्पियन्स लिग। यसमा सहभागिता जनाउने क्लबहरुमा विश्वस्तरिय खेलाडीहरुको सम्मिश्रणमा हुन्छ। फरकफरक देशको लागि खेल्ने खेलाडीहरुको चर्को मुल्यमा किनबेच भइरहेको हुन्छ यस्ता प्रतियोगिताहरुमा।
सर्वाधिक चर्चा हुने फुटबल प्रतियोगितामध्येको एक हो च्याम्पियन्स लिग पनि। आज(मंगलबार) बाट नयाँ सिजनको च्याम्पियन्स लिगको समुह चरणका खेलहरु हुँदैछन्। च्याम्पियन्स लिगमा अहिलेसम्म स्पेनिस क्लब रियल म्याड्रिड सबैभन्दा सफल देखिएको छ। उसले १३ पटक यो उपाधि हात पार्दै सर्वाधिक उपाधि जित्नेको सुचीमा अग्रस्थानमा छ भने इटालियन क्लब एसी मिलानले ७ पटक यो उपाधि उचाली सकेको छ।
त्यसैगरी इंगलिश क्लब लिभरपुलले ६ पटक र जर्मन क्लब बायर्न म्यूनिख र स्पेनिश क्लब बार्सिलोनाले ५–५ पटक यो उपाधि रक्षा गरेका छन्। च्याम्पियन्स लिग जित्ने क्लबले १ हजार ११ करोड रुपैयाँ पाउनेछ जुन विश्वकप विजेताले पाउने भन्दा १४० प्रतिशतले बढी हो।
उक्त लिगमा १२६ गोल गर्दै पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन्। उनले १६२ खेलबाट १२६ गोल गर्न सफल भएका हुन्। त्यस्तै अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले ११२ गोल गर्दै रोनाल्डोभन्दा पछाडि छन्। उनले १३५ खेलबाट ११२ गोल गरेका हुन्। त्यस्तै सर्वाधिक गोल गर्नेको तेस्रो स्थानमा स्पेनका राउल रहेका छन्। उनको नाममा अहिलेसम्म ७१ गोल छ। उनले १४२ खेलमा सहभागिता जनाउँदै उक्त गोल संख्या पुर्याएका हुन्।