हेटौँडा – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेता, जनप्रतिनिधि र उच्च पदस्थ सरकारी कर्मचारीले आफ्ना बालबालिकाको लागि सामुदायिक विद्यालय छनौट गरेमा शिक्षा क्षेत्रमा आमूल परिवर्तन हुने बताएका छन्।
हेटौँडामा आयोजित नमूना विद्यालय हस्तान्तरण कार्यक्रममा उहाँले शिक्षा क्षेत्रमा सरकारले गरेको ठूलो लगानीको उचित प्रतिफल ल्याउनका लागि सामुदायिक विद्यालय सुधार कार्य आवश्यक रहेको बताएका छन्।
उहाँले हालसम्म नेपालमा ८० प्रतिशत साधारण र २० प्रतिशत मात्र प्राविधिक शिक्षा अध्यापन गराइने भएकाले अब यसलाई उल्टाउनुपर्ने समय आएको बताउँदै अबको दिनमा सामुदायिक विद्यालयले नीजि क्षेत्रसँग प्रतिस्पर्धा गर्न सक्ने खालको शैक्षिक गतिविधि अगाडी बढाउनुपर्छ भनेका छन्।
मन्त्री पोखरेलले भनेका छन्, अब सामुदायिक विद्यालयमा साधारणभन्दा पनि प्राविधिक शिक्षाको पढाइ आवश्यक छ। यसले शिक्षालाई सीप, सीपलाई रोजगारी र रोजगारीले समृद्धि सम्भव हुन्छ। अबको दिनमा हिजोको शैलीमा गराइने पठनपाठनले काम नगर्ने हुँदा पुरानो ज्ञान दिनेमात्र नभएर नयाँ ज्ञान सिक्नतर्फ शिक्षक उन्मुख हुनुपर्नेमा जोड दिनुपर्ने बताएका छन्।
अब एक हजार ७०० विद्यालय पुनःनिर्माण हुन बाँकी रहेको र जग्गा लगायतका विवादका कारणले त्यो कार्य अड्किएको बताएका मन्त्री पोखरेलले नेपाल सरकारले पाँच वर्षभित्र विद्यालय भवनहरुको पुनःनिर्माण सम्पन्न गर्ने संकल्प लिएको उल्लेख गरेकाे बताएका छन्।