एजेन्सी–बलिउड गायक टोनी कक्कर नेपाल आउने भएका छन्। आफ्नो गायनबाट दर्शकको मन जित्न सफल भएका टोनी सी एन आई इभेन्ट्सले आयोजना गरेको कार्यक्रममा आफ्नो प्रस्तुति दिनका लागि असोज २ गते नेपाल आउँन लागेका हुन्।
पछिल्लो समयमा भारतीय कलाकारहरुको नेपालप्रतिको आकर्षण बढ्दो छ। विभिन्न कार्यक्रममा सहभागिता जनाउन बेलाबेलामा भारतीय कलाकारहरु नेपाल आउने गरेका छन्। केही दिन अगाडि नेपाली फिल्म ‘पासर्वड’मा आईटम डान्स गरेकी सन्नी लियोनी पनि नेपाल आएकी थिइन्। टोनीले ठमेलको ‘क्लब फहरेन्टहाइट’मा प्रस्तुति दिने आयोजकले बताएको छ।
एक भिडियोमार्फत कक्करले आफ्ना शुभचिन्तकहरुलाई ‘भिजिट नेपाल २०२०’ को अवसरमा हुन लागेको कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन्। उक्त कार्यक्रम असोज २ गते बिहिबार साँझ ८ बजेबाट सुरु हुने भएको छ। कक्करको ‘कोका कोला तु, धिमे धिमे, मिले तो हम, ओ हमसफर’ लगायत जस्ता धेरै गीत चर्चामा रहेका छन्।