कास्की– निजि मेडिकल कलेजहरुले विद्यार्थीहरुसँग जथाभाबि रुपमा पैसा असुल्ने गरेको, सरकारी निर्देशनको पालना नगरेको जस्ता कारण विद्यार्थीहरु विभिन्न कलेजमा आन्दोलनरत बनेका छन्। चितवन मेडिकल कलेजका विद्याथी दुई सातादेखि आन्दोलनमा भइरहेको बेला पोखराको गण्डकी मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित बनेका छन्।
आन्दोलनका कारण ६ दिनदेखि गण्डकी मेडिकल कलेजको पठनपाठन पूर्ण रुपमा ठप्प भएको बताइएको छ। मन्त्रीपरिषदले एमविविएस पढ्न विद्यार्थीहरुलाई काठमाडौ बाहिर ४३ लाख ४५ हजार र काठमाडौ उपत्यकामा ३८ लाख ५० हजार शुल्क तोकेको छ। त्यस्तै नर्सिङ पढ्न ७ लाख ४८ हजार तोकेको भएपनि कलेजहरुले मनलाग्दी रुपमा पैसा असुल्ने गरेको उनीहरुको आरोप छ। त्यस्तै कलेजहरुले विद्यार्थीसँग लिएको अवैधानिक शुल्क फिर्ता गर्न शिक्षा मन्त्रालयले दिएको निर्देशन निजी मेडिकल कलेजहरुले नमानेको कारण आन्दोलन गर्नुपरेको विद्यार्थीहरुको भनाई छ।
शिक्षा मन्त्रालय आफैंले दिएको निर्देशन पालना नभएको अवस्थामा शिक्षा मन्त्री मौन बसेको भन्दै उनीहरुले शिक्षामन्त्री गिरीराजमणी पोखरेलको राजिनामाको समेत माग गरेका छन्। आइओएमले मन्त्रीपरिषदले तोकेको शिक्षण शुल्क बाहेक निजी मेडिकल कलेजहरुले परिक्षा शुल्क २५,०० रुपैयाँ र रजिस्ट्रसन शुल्क ५ सय रुपैयाँ मात्र लिन पाउने जानकारी गराइसकेको छ। तर निजि मेडिकल कलेजहरुले नियम विपरीत मनलाग्दी शीर्षकमा विद्यार्थीहरुबाट पैसा उठाउने गरेको पाइन्छ।
शिक्षा मन्त्रालयले २०७५ चैत ८ गते निजी मेडिकल कलेजहरूलाई विद्यार्थीबाट तोकेभन्दा उठाएको बढी शुल्क एक महिनाभित्र फिर्ता गर्न निर्देशन दिएको थियो तर मेडिकल कलेजहरुले भने सो निर्देशन अटेर गरिरहेका छन्।