काठमाडौं– पारस खड्काको कप्तानीमा ओमान तथा सिंगापुर भ्रमणका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम घोषणा गरिएको छ। टिममा १५ खेलाडीहरु जना समावेश गरिएको छ। नेपालका प्रमुख प्रशिक्षक उमेश पटवालले सो टालीको घोषणा गरेका हुन्।
राष्ट्रिय टिमका उपकप्तान ज्ञानेन्द्र मल्लेले यसअघि नै ओमान भ्रमणमा नजाने बताइसकेका छन्। उनले व्यक्तिगत कारण आफू नजाने बताएका थिए। ज्ञानेन्द्र टिममा नहुँदा दीपेन्द्रसिंह ऐरीले उपकप्तानको जिम्मेवारी पाएका छन्। अनुभवी बलर बसन्त रेग्मी र ब्याट्सम्यान शरद भेषावकरलाई पनि सो टिममा समावेश गरिएको छैन। उनीहरुको अनुस्पथितिमा खेलाडीद्वय कुशल मल्ल र इशान पाण्डले भने पहिलोपटक राष्ट्रिय टिममा स्थान बनाएका छन्।
घोषित टिममा कप्तान पारस खड्कासँगै दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, सन्दीप लामिछानेले, सन्दीप जोरा, ललितनारायण राजवंशी, पवन सर्राफ, अभिनास बोहरा, कुशल मल्ल, आरिफ शेख, रोहितकुमार पौडेल, शुसान भारी, इशान पाण्डे रहेका छन्।
नेपालले असोज दोस्रो साता सिंगापुरमा हुने त्रिकोणीय अन्तर्राष्ट्रिय टी–२० सिरिज खेल्ने कार्यक्रम छ जसमा नेपाल, जिम्बावे र आयोजक सिंगापुरबीच खेलहरु हुनेछ। नेपालले सिंगापुरको खेल सकेपछि उतैबाट ओमानको भ्रमण गर्नेछ। ओमानमा हुने प्रतियोगितामा नेपालले आयोजक ओमान, आयरल्यान्ड, हङकङ र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ। नेपाली टिम २५ सेप्टेम्बरमा सिंगापुर जाने बताइएको छ।