खाेटाङ – खोटङको दक्षिणी भेगमा पर्ने साकेला गाउँपालिका–३ खिदिम गाउँमा यस वर्ष २ करोड रुपैयाँभन्दा बढीको आलु उत्पादन भएको छ। प्रतिकिलो ३० रुपैयाँका दरले घरबाटै बिक्री हुने आलु यसवर्ष २ करोड २३ लाख १२ हजार ५०० बढीको उत्पादन भएको हो।
स्थानिय किसान गोविन्द तामाङले भने, ‘खिदिमामा ४ सय २५ घरधुरी स्थानीयवासी बसोवास गर्छन्। अन्यबाली खासै नहुने खिदिमामा प्रत्येक घरले कम्तीमा पनि २५ मुरी आलु उत्पादन गर्छन्।’
साकेला गाउँपालिकाका कृषि शाखा प्रमुख गणेश राईले खिदिमामा यसवर्ष साँढे सात हजार क्वीन्टल भन्दा बढी आलु उत्पादन भएको जानकारी दिए। ‘आलुबाट मात्रै प्रति घरपरिवारले सरदरमा ४३ हजार ७ सय ५० भन्दा बढी आम्दानी गरेका छन्’, उनले भने, ‘पहिलो बालीका रुपमा लगाइने आलु खेतीलाई थप प्रवद्र्धन गर्न गाउँपालिकाको तर्फबाट गत वर्ष २ लाख अनुदान उपलब्ध गराइएको थियो।’
खिदिमाको आलु कम्पोष्ट मल प्रयोग गरेर उत्पादन गरिएकाले खरीद गर्नेको खोसाखोस नै चल्ने गरेको पाइएको छ। समुद्री सतहदेखि करीब २ हजार फिट अग्लो भू–भागमा पर्ने खिदिममा उत्पादन भएको आलु जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा रु ४० मा खरीद तथा बिक्री हुने गरेको छ।
दिक्तेलका व्यापारीले खिदिमाको आलु अर्गानिक भएकाले पनि उपभोक्ताको माग सबैभन्दा बढी रहेको बताएका छन्। गाउँमा खासै बिक्री नहुने आलु स्थानीयवासीले गाडीमा हालेर दिक्तेलबजार तथा बाहिरी जिल्ला निर्यात गर्ने गरेका छन्।
पाँच वटा मात्रै वडा रहेको साकेला गाउँपालिकामा आलु, मकै, गहुँ, धान, कोदो, फापर, फलफूल तथा तरकारी, माछा, मौरी तथा पशुपंक्षीपालनलगायत फरकरफरक कृषि व्यवसायको पकेट क्षेत्र बनाउने अभियान शुरु गरिएको छ।
गाउँपालिकाले हरेक वडामा भूगोल अनुसार फरक–फरक व्यवसायका लागि किसान समूह गठन गरेर अभियानलाई तीव्रता दिइएको जनाएको छ।