बाकें – बाँकेमा सञ्चालित सामुदायिक घरबासले गाउँघरमै रोजगारीका अवसर सिर्जना गरिदिएको छ। विसं २०७० मा शुरु भएको गाभर भ्याली सामुदायिक घरबास अहिले नेपालकै नमूना घरबासका रुपमा चिनिन्छ। गाभर भ्याली सामुदायिक घरवासका अध्यक्ष कृष्ण चौधरीका अनुसार अहिले बाँकेमा तीन वटा सामुदायिक घरबास सञ्चालित छन्।
चार वटा निजी घरबास पनि सञ्चालनमा छ। बैजनाथ–१ मा अवस्थित बाँकेको पहिलो सामुदायिक गाभर भ्याली घरबासमा १७ घर, राप्तीसोनारी गाउँपालिका ८ ढकेरीस्थित नयाँगाउँ घरबासमा ११ घर र कोहलपुरको खडकवार नमूना सामुदायिक घरवासमा ७ घर आवद्ध रहेका छन्।
बाँकेको गाभरमै तीन वटा निजी घरबास रहेका छन् भने एउटा खजुरा गाउँपालिकामा मामा घरबास सञ्चालित छ। प्रत्येक घरका कम्तीमा पाँचजना व्यक्ति घरबासमा प्रत्यक्षतः संलग्न रहिआएका छन्। घरमै रोजगार भएपछि कामको खोजिमा घर छोड्नु पर्ने अवस्थाको अन्त्य भएको चौधरीले बताए।
गाभर भ्याली घरबासमा शुरूका दिनमा २०/३० हजारबाट व्यवसाय शुरू गरेपनि अहिले कुनै घरले २० लाख र कुनैले ५० लाख रुपैयाँसम्म लगानी गरेको अध्यक्ष चौधरी बताउछन्। होमस्टे एशोसियशन नेपाल ५ नम्बर प्रदेशका सचिवसमेत रहनुभएका गाभर भ्याली घरबासका सञ्चालक चौधरीले भने हामीले केवल जीविकोपार्जनका लागि मात्र नभई नेपालमै पहिलोपटक आयआर्जन, संस्कृतिको प्रबर्धन, प्रकृतिको संरक्षण र बाघ पर्यटनको अवधारणा अघि सारेका छौँ।
यस्ता सवाल उठान गर्ने गाभर भ्याली एउटा होमस्टे मात्रै नभई देशकै आन्तरिक पर्यटन प्रवद्र्धनको अगुवा बनेको छ र पर्यटन उद्योगमा नयाँ आयामको शुरुआत गर्ने यो एक स्थल हो। गाउँमा होमस्टे स्थापनापछि गाउँलेको बोलीचाली, रहनसहनदेखि आर्थिक हैसियत मै उल्लेख्य परिवर्तन आएको छ।’
गाभर भ्याली सामुदायिक घरबासका सदस्य अनिलकुमार थापाले घरबास स्थानीय बासिन्दाको अतिरिक्त आम्दानीको स्रोत बनेको बताउछन्। उनले भन्छन् – ‘गाउँमा होमस्टे सञ्चालन हुँदा होमस्टे भएका घरले मात्रै नभएर सम्पूर्ण गाउँलेलाई नै लाभ पुगेको छ ।यसले गर्दा कुखुरा, तरकारी, दही, दूध लगायतको व्यापार बढेको छ। स्थानीय हाते उत्पादनका सामग्रीको बजार पनि बढेको छ। सबैभन्दा ठूलो सचेतना त के भने गाउँमा पाहुना आउँछन् भनेपछि गाउँ नै सफासुग्घर भएको छ।
विगतमा घरबास सञ्चालन नहुँदा घरखर्च जुटाउन मुश्किल हुने तर, अहिले त्यो स्थिति नरहेको नयाँ गाउँ घरबास सञ्चालक समितिका अध्यक्ष टीका चौधरीले बताए। बाँकेमा सञ्चालित घरबासमा आन्तरिक पर्यटकको चाप धेरै नै छ। सस्तो र ताजा खाना खान पाउने भएपछि शहरका होटल छोडेर पाहुनाहरु आफूकहाँ आउने गरेको नयाँ गाउँ घरबास सञ्चालक समितिका अध्यक्ष चौधरी बताउछन्। ‘विदेशीभन्दा स्वदेशी पर्यटकको चाप धेरै छ, पछिल्लो समय नेपाली व्यापारीहरुसमेत होमस्टेमा आउने संस्कारको विकास भएको छ, चौधरीले भने – ‘शहरको कोलाहलभन्दा पाहुनाहरु गाउँको शान्त वातावरण र खानपान मन पराउँछन्।’
उनका अनुसार शुरुमा घरवास चल्छ कि चल्दैन भन्ने चिन्ता थियो तर, अहिले पाहुनाको रोजाइको पहिलो गन्तव्य घरबास बन्न पुगेपछि गाउँकै पहिचान बदलिएको छ।बाँकेमा सञ्चालित घरबासका कारण ग्रामीण पर्यटन प्रवद्र्धन भएको गाभर भ्याली सामुदायिक घरबासका अध्यक्ष चौधरीले बताए। उनका अनुसार छ वर्ष अगाडि स्थापना भएको यो घरबासले अपेक्षाभन्दा बढी लाभ लिन सफल भएको छ। समुदायको दिगो आयआर्जनका माध्यम घरबास बनेको छ।
गाउँमा हस्तकलाका सामग्री निर्माण गर्ने, युवालाई विभिन्न पर्यटकीय तालीम दिने, स्थानीय उत्पादनलाई प्राथमिकता दिने काम पनि घरबासले गरेको छ। गाभर भ्यालीमा थारुसहित मुगुको राराबाट स्थानान्तरण भइआएका मुगेलीहरु छन् । यसबाट पनि धेरै समुदायको जमघट हुने थलो बनेको छ गाभर भ्याली।
एक घरबाट शुरु भएको यहाँको घरबास अहिले १७ घरमा फैलिएको छ र अझै केही थपिँदै छ।
होमस्ट एशोसिएशनका केन्द्रीय सदस्य पूर्णचन्द्र उपाध्यायले सरकारले घरबासलाई व्यवस्थित बनाउन मापदण्ड तोकिदिएपछि ग्रामीण जनतालाई पर्यटकको स्वागत गरी आम्दानी गर्ने बाटो खुलेको बताउछन्। उपाध्यायले भने– ठूलो सङ्ख्यामा पर्यटक भित्रिए शहरमा अट्ने पूर्वाधार नभएकाले गाउँ पुर्याएर रोजगार बढाउन होमस्टेको अवधारणा ल्याइएको हो। होमस्टे सामूहिक तथा निजी हिसाबले पर्यटकलाई खाने–बस्ने प्रबन्ध मिलाउने माध्यम हो।
‘बाघ पर्यटन’ को प्रबर्धन
बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा सञ्चालित गाभर भ्याली सामुदायिक घरबास र नयाँ गाउँ घरबासले बाघ पर्यटनको प्रवद्र्धनमा सहयोग पु¥याउँदै आएका छन्। दुवै होमस्टे जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएकाले बाघ पर्यटन प्रवद्र्धनलाई मुख्य एजेन्डा बनाएर काम गरिरहेको होमस्टे एशोसियशन नेपाल ५ नं प्रदेशका सचिवसमेत रहनुभएका चौधरीले बताउछन्।
नेपालगञ्जबाट करीब २५ किलोमिटरको दूरीमा रहेका दुबै घरबासको बास होटलभन्दा निकै सस्तो छ। बारीमै फलेका ताजा तरकारी र फलफूल पनि सस्तो दरमा खान पाइन्छ, बाघ पनि हेर्न पाइन्छ । घरवासमा हिमाली फापरको रोटी, कोदोको ढिँडा, सिमीको दाल र थारू समुदायको सिद्रा, ढिक्री, घोंघी, गङ्गटा, परेवाको मासु, झिङ्गे माछा, अनदीको रोटी, फुलौरी पाइने चौधरी बताउछन्।
घरबासको सञ्चालनले गाउँमै उत्पादन भएका खाद्यान्न, सागपात, दही, दूध खाने र गाउँका कला संस्कृति हेर्ने परम्परा बसेको मात्र नभै आर्थिक गतिविधि पनि बढाएको छ। सरकारले अगाडि सारेको सुखी नेपाली समृद्ध नेपालको नारा एवं आर्थिसामाजिक परिवर्तनको लक्ष्यलाई छोटो समयमा नै पूरा गर्न घरबासले सहयोग गरेको होमस्टे एशोसिएशनका अध्यक्ष भीम केसी बताउछन्। (रासस)