काठमाडौं — सम्पत्ति कर वर्षमा एकपटक मात्र तिर्नुपर्छ। नेपालीले वर्षको अन्तिममात्र कर तिर्ने गर्छन्। राजस्व बढाउने उद्देश्यसहित काठमाडौं र ललितपुर महानगरले सम्पत्ति करमा छुट दिने भएका छन्। सम्पत्ति करमा लाग्ने शुल्कको १० प्रतिशतसम्म छुट दिने व्यवस्था गर्न लागेको महानगरले जानकारी दिएको छ।
समयमै कर तिराउनका लागि करलगायत विभिन्न शीर्षकमा छुट दिएको काठमाडौं महानगरका राजस्व विभाग प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिएका छन्। सम्पत्ति करमा छुट दिए पनि व्यवसाय, मालपोत, तथा घरबहाल करमा छुट नदिएको उनले बताए।
काठमाडौं महानगरपालिकाले सम्पत्ति करमा १० प्रतिशत, पम्परागत शैली अपनाएर नयाँ घर बनाएमा १० प्रतिशत छुट, राजस्वमा लाग्ने जरिवानामा, भूकम्पपीडितको नक्सापासमा, सर्वसाधारणलाई पार्किङ स्थल उपलब्ध गराउने गरी घर बनाएमा पनि छुट दिने व्यवस्था गरेको छ।
ललितपुर महानगरपालिकाले भने सम्पत्ति करसँगै मालपोत कर र व्यवसाय करमा लाग्ने शुल्कमा १० प्रतिशत छुट दिएको छ । त्यस्तै करमा लाग्ने जरिवाना र तिर्नुपर्नेमा पनि १० प्रतिशत छुट दिएको ललितपुर महानगरका राजस्व महाशाखाका वरिष्ठ अधिकृत डिल्लीराज शाक्यले जानकारी दिए।