काठमाडौं — योगेश राजको ‘रणहार’लाई यस वर्षको मदन पुरस्कार प्रदान गरिएको छ। भदौ १ गते बसेको मदन पुरस्कार गुठीको साधारणसभाले निर्णय गरे अनुसार आज मदन पुरस्कार प्रदान गरिएको हो।
रणजीत युवराज हुँदादेखि राजा बन्दासम्मका संघर्षका कथा तथा पृथ्वी नारायण शाहले उपत्यका कब्जा गर्ने क्रममा अन्तिममा भक्तपुरमाथि विजयी गरेको घटना समेटिएको छ। साथै ‘रणहार’ भक्तपुरको अन्तिम मल्ल राजा रणजीत मल्लको सेरोफेरोका केन्द्रित छ।
उनले लिम्बू भाषा तथा मुन्धुम संस्कार र संस्कृतिको अध्ययन अनुसन्धान तथा अभिलेखीकरण गरी नेपाली वाङ्मयको समृद्धिमा उल्लेखनीय योगदान पुर्याएको भन्दै मदन पुरस्कार गुठीले जगदम्बा श्री पुरस्कार प्रदान गरेको हो। बैरागी काइँला (तिलविक्रम नेम्बाङ)लाई यस वर्षको जगदम्बा श्री पुरस्कार प्रदान गरिएको छ। बैरागी काइँला नेपाली साहित्यमा तेस्रो आयाम साहित्यिक अभियानका प्रारम्भकर्तामध्एका एक हुन्।
यस वर्षदेखि मदन पुरस्कार तथा जगदम्बा श्री पुरस्कारको राशी चार–चार लाख रुपैयाँ रहेको छ। यसअघि दुवै पुरस्कारको राशि दुई–दुई लाख रहेको थियो। यस वर्ष मदन पुरस्कार गुठीलाई प्राप्त २५७ पुस्तकमध्ये ‘एकादेशमा’, ‘ओक्कल दोक्कल पीपल पात’, ‘ज्ञ’, ‘फातसुङ’, ‘मरिचिका’, ‘रणहार’ र ‘विचारको लास’ मदन पुरस्कार २०७५ को छनोटमा परेका थिए। मदन पुरस्कार २०१२ सालमा स्थापित भएको थियो।