एजेन्सी– ला लिगा फुटबलमा साविक विजेता बार्सिलोनाले हार बेहोरेको छ। गएराति भएको खेलमा ग्रानडाले बार्सिलोनालाई २–० गोलले हराएको हो। ग्रानडाको जितमा रामन अजिज र अल्भरो भाडिलाले एक एक गोल गरेका थिए। पाहुना टोली बार्सिलोनालाई घरेलु टोलीले खेल शुरु भएको केहि मिनेटमा नै गोल गर्दै दबाबमा राख्न सफल भएको थियो।
रामन अजिजले खेलको २ मिनेटमा नै उत्कृष्ट हेडर गोल गर्दै घरेलु टोलीलाई अग्रता दिएका थिए। त्यस्तै ६६ औं मिनेटमा आर्टुरो भिडालले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि ग्रानडाले पेनाल्टी पाएको थियो। पेनाल्टीको सदुपयोग गर्दै अल्भरो भाडिलोले घरेलु टोलीको अग्रता दोब्बर बनाएका थिए।
खेलमा फर्कन बार्सिलोनाले लगातार प्रयास गरेपनि सफल भने हुन सकेन। बल पोजेसनमा पकड जमाएपनि बार्सिलोना गोल गर्न असफल भयो। बार्साका लागि दोस्रो हाफमा कप्तान लियोनल मेस्सी र युवा स्टार आन्सु फाती पनि मैदान उत्रिएका थिए। जारी सिजनमा बार्सिलोनाको यो दोस्रो हार हो।
जितसँगै ग्रानडा ५ खेलबाट १० अंक बटुल्दै ला लिगाको शीर्षस्थानमा उक्लिएको छ। समान खेलबाट ७ अंक जोडेको बार्सिलोना भने सातौ स्थानमा छ।