काठमाडाै - मैथिल समुदायका ‘आमाको महान लोक पर्व’ जितीया आज सम्पन्न भएको छ। सो पर्वअन्तर्गत मैथिल महिलाले थुक पनि ननिलेर ३६ घण्टासम्म व्रत गरी पर्व सम्पन्न गरेका छन्।
सप्तमी, अष्टमी र नवमी तिथिमा मनाइने यो पर्वमा सन्तानको आरोग्यको कामनासहित कठोर व्रत गरिने चलन छ । वगतमा छोरा हुनेले मात्र व्रत बस्ने परम्परा रहेकामा महिलाले हाल सो परम्परा तोड्दै छोराछोरी दुवैको सुख, शान्ति र समृद्धिका लागि व्रत बस्ने गरेका छन्।
जितीया पाबनि बड भारी ९ जितीया पर्व धेरै ठूलो छ ।० भन्ने कथन अनुरूप व्रति महिलाले निराहार उपवास व्रत बसी व्रतलाई खण्डित हुन नदिने संकल्प गरेका हुन्छन्। व्रतालु सोनादेवीले भन्नुभयो, “जिमुतवाहनको कामनामा धेरै शक्ति छ, यसको नियमपूर्वक पूजा गर्नाले सन्तानको आयु वृद्धि हुने गरेको विश्वाससहित ३६ घण्टाको व्रत निविध्नतापूर्वक सम्पन्न गरैकी छु ।”
जितीया पर्व मैथिल संस्कृतिको पर्वमध्ये एउटा मुख्य पर्व हो । यसलाई जिमुतवाहन व्रत पनि भनिन्छ। विशेष रूपले आइतबार र मङ्गलबार पर्ने जितीयालाई अधिक महत्व दिइन्छ। यस अन्तरगत यस व्रतको सप्तमी तिथिमा व्रतालुले नहाय खाय, तेलखरि र पितराइन, रातिको अन्तिम प्रहरमा ओठगन गर्ने चलन छ।
अष्टमी तिथिका दिन व्रतालुले नजिकको पोखरी, तलाउमा स्नान गरी भगवान् सूर्यलाई अर्घ अर्पण गर्छन् । त्यसपछि व्रतको संकल्प गर्छन् र घरमा आएर डाली भर्ने गरिन्छ। डालीमा नरिवल, काँक्रो, स्याउ, केरा लगायतका फलफूल राखेर नयाँ कपडाले छोपिन्छ । मध्यान्हतिर टोलभरिका आमा एक ठाउँमा भेला भई जिमुतवाहन व्रतको महत्व, पर्वको शुभारम्भ र जिमुतवाहन देवताका बारेमा कथा सुन्ने गर्छन्।
साँझतिर आँगनमा गाईको गोबरले लिपपोत गरी एउटा सानो खाल्डो खनेर पोखरीको निर्माण गरिन्छ। त्यो पोखरीको डिलमा पाकडी रूखको सानो हाँगा गाड्नुका साथै हाँगाको माटोको चिलको आकृति र हाँगामुनी स्यालको आकृति बनाउछन्। त्यहाँ जलले भरिएको कलशमा कुशको जिमुतवाहनको मूर्ति राखिन्छ र फलफूल लिएर जिमुतवाहनको व्रतालुले पूजापाठ गर्छन्।
नवमी तिथिका दिन व्रतालुले स्नान गरी पवित्र भई पूर्ववत् जिमुतवाहन, चिल, स्याल र दिवङ्गत महिलालाई नैवेद्य अर्पण गरी प्रसाद लिई पारण गरी व्रत सम्पन्न गरिने परम्परा छ। सो व्रत कुनै शास्त्रीय देवताको नभई लोकदेवताको भएको बुझिन्छ। यसमा जितवाहन नामक लोकदेवताको पूजा गरिन्छ। जितीया व्रत गर्नाले सन्तानको दीर्घायु, आरोग्य रहनुका साथै खास गरी कुनै आकस्मिक खतराबाट रक्षा हुने विश्वास रहेको पाइन्छ। –रासस