एजेन्सी– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले चेल्सीमाथि रोमाञ्चक जित निकालेको छ। आइतबार राती सम्पन्न खेलमा लिभरपुलले चेल्सीलाई उसकै मैदानमा २–१ गोलले हराएको हो।
लिभरपुलको जितमा जिताउन एलेसान्दर अर्नाेल्ड र रोवर्टाे फिर्मिनोले गोल गरेका थिए। चेल्सीका लागि एङ्गोलो कान्टेले गोल गरेका थिए। स्टामफोर्ड ब्रिजमा भएको खेलमा लिभरपुलका एलेसान्दर अर्नाेल्डले १४ औं मिनेटमा गोल गर्दै पाहुना टोलीलाई शुरुवाती अग्रता दिलाएका थिए। उनले मोहम्मद सलाहको पासको सदुपयोग गरेका थिए। त्यस्तै खेलको ३० औं मिनेटमा फिर्मिनोले गोल गर्दै लिभरपुललाई पहिलो हाफमा २–० को स्थितिमा पुर्याएका थिए।
त्यसअघि २७ औं मिनेटमा चेल्सीका कप्तान सिजरले गोल गरेपनि भीएआरले मान्यता दिएन।प्रतिस्पर्धात्मक खेलमा चेल्सीले दोस्रो हाफमा केहि राम्रा आक्रमणहरु गरेको थियो। कप्तान सेजरको पासमा कान्टेले ७१ औं मिनेटमा गोल गर्दै चेल्सीलाई खेलमा फर्काउने प्रयास गरेका थिए। तर खेलमा अन्य गोल गर्न नसक्दा चेल्सी पराजित हुन पुग्यो।
यस जितसँगै लिभरपुलले लिगमा अपराजित यात्रा कायमै गरेको छ। उसले ६ खेलबाट १८ अंक जोड्दै शीर्षस्थानमा रहेको छ। म्यानचेस्टर सिटी १३ अंकका साथ दोस्रो स्थानमा रहँदा चेल्सी भने ८ अंकसहित ११औं स्थानमा छ।