एजेन्सी– इंग्लिस प्रिमियर लिग फुटबलमा लन्डन क्लब आर्सनलले एस्टन भिल्लालाई पराजित गरेको छ। घरेलु मैदानमा भएको खेलमा आर्सनलले पुनरागमन जित दर्ता गर्न सफल भएको हो।
पाहुना टोली एस्टन भिल्लाले खेलको २० औं मिनेटमा नै शुरुवाती अग्रता बनाएको थियो। भिल्लाका लागि जोन म्याक्जिनले गोल गरेका थिए। उनले अनवर इएल घाँजीको पासको सदुपयोग गरेका थिए। आर्सनलका एन्सले मेटल्यान्ड नाइल्स दोहोरो पहेँलो कार्ड खादै ४१ औं मिनेटमा मैदान बाहिरिएपछि घरेलु टोली १० खेलाडीमा सिमित भएको थियो।
पहिलो हाफमा १–० को स्थितिमा पछि परेको आर्सनलले ५९ औं मिनेटमा पेनाल्टीमार्फत खेलमा बराबरी गर्यो। निकोलस पेपेले पेनाल्टीको सदुपयोग गरेका थिए। तर त्यसको १ मिनेट नबित्दै वेस्लेले गोल गर्दै भिल्लालाई पुनः अग्रता दिलाए।
तर खेलको ८१ औं मिनेटमा कलुम च्याम्वर्सले गोल गर्दै अआर्सनललाई खेलमा फर्काए। यससँगै खेल पुन २–२ गोलको बराबरीमा पुग्यो। खेलको ८४ औं मिनेटमा पिएरे हेनरिक औवामियाङले गोल गर्दै आर्सनललाई स्पष्ट जित दिलाए। यस जितसँगै आर्सनल ६ खेलबाट ११ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ। भिल्ला भने ४ अंक जोडेर १८औं स्थानमा छ।