एजेन्सी– क्यारेवियन प्रिमियर लिग (सीपीएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित बार्बाडोस ट्राइडेन्स् पराजित भएको छ। बार्बाडोस गुयाना ऐमेजन वारियर्ससँग डक वर्थ लेविस पद्धतीको आधारमा १२ रनले पराजित भएको हो।
टस हारेर पहिला ब्याटिङ गरेकोे बार्बाडोसले १९.२ ओभरमा अल आउट हुँदै १ सय ३८ रनमा बनाएको थियो। बार्बाडोसका लागि जेपि ड्युमिनीले सर्वाधिक ३८ रन बनाएका थिए। उनले ३२ बलमा समान २ चौका र छक्का प्रहार गरेका हुन्। त्यस्तै एलेक्स हक्सले २४ रनको योगदान दिएका थिए। गुयानाका क्रिस ग्रिनले ३.२ ओभरमा १४ रन खर्चेर ४ विकेट लिएका थिए।
१ सय ३९ रनको विजयी लक्ष्य गुयानाले ११ ओभरमा ८१ रन जोड्न २ विकेट गुमाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो। उसका लागिओपनर ब्रान्डन किंगले ५१ रन बनाउँदै अविजित रहेका थिए। उनले ३४ बलमा ५ चौका र ३ छक्का सहित ५१ बनाएका हुन्। वर्षा नरोकिएपछि खेलको निर्णय डक वर्थ लेविस पद्धतीका आधारमा गरिएको थियो।
मध्यम प्रदर्शन गरेका नेपाली लेग स्पिनर सन्दीपले ३ ओभरमा २१ रन खर्चर १ विकेट लिएका थिए। उनले आफ्नो पहिलो तथा टिमको चौथो ओभरमा ८ रन दिए। आफ्नो व्यक्तिगत दोस्रो ओभरमा ४ रन खर्चिएर १ विकेट लिए भने आफ्नो तेस्रो ओभरमा १० रन खचिएका थिए। योसँगै गुयाना सुरुवाती ६ खेलमा जित निकाल्दै प्ले अफमा पुग्ने पहिलो टोली बनेको छ।