झापा– असोज ११ गतेदेखि झापाको बिर्तामोडमा ‘हाम्रो पूर्वाञ्चल अन्तराष्ट्रिय गोल्डकप – २०७६’ सञ्चालन हुँदैछ। जायोन स्पोर्टस् क्लब बिर्तामोडले आयोजना गर्ने सो प्रातियोगिताको तयारी पूरा भएको छ।
बिर्तामोडमा आज(सोमबार) पत्रकार सम्मेलन गरी आयोजकले प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी दिएको हो। प्रतियोगितामा दुई वटा विदेशी टिमसहित आठवटा फुटवल टिमले सहभागीता जनाउने बताइएको छ।
खेलहरु बिर्तामोडस्थित डोमालार राजवंशी रंगशालामा हुनेछ। प्रतियोगिताको विजेता टिमले १२ लाख ५० हजार र उपविजेताले ६ लाख २५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजक समितिका सचिव महेन्द्र पाण्डेले जानकारी दिए। उक्त प्रतियोगिता सम्पन्न गर्न अनुमानित ८० लाख रुपैयाँ खर्च हुने बताइएको छ।
गोल्डकपमा नेपाल पुलिस क्लव, त्रिभुवन आर्मी क्लव ,झापा ११, गोर्खा वोइज रुपन्देही, थ्री स्टार क्लव, मोलवे आसाम, सिक्किम आक्रमक र संकटा फुटवल क्लव गरी आठ टिमको सहभागिता रहनेछ। प्रतियोगिताको उद्घाटन खेलमा सिक्किम आक्रमक र संकटा फुटवल क्लव भिड्नेछन्।
सो प्रतियोगितालाई अन्नपूर्ण वचत तथा ऋण सहकारी संस्थाले प्रयोजन गर्नेछ। प्रतियोगिता सम्पन्न गर्न विभिन्न उपसमिति समेत गठन गरिएको आयोजकले बताएको छ। खेलअवधिभर दैनिक २० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ। प्रतियोगिता असोज १८ गतेसम्म चल्नेछ।