काठमाडौं– मेडिकल कलेजले विद्यार्थीसँग लिएको अवैधानिक शुल्क फिर्ता गर्न सरकारले आग्रह गरेको छ। सोमबार गृह मन्त्रालयमा गृहमन्त्री राम बहादुर थापा, शिक्षा तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलसहित दुई मन्त्रालय संबद्ध पदाधिकारीहरूको बैठकमा यस विषयमा छलफल भएको हो।
यदि मेडिकल कलेजले तोकिएको एक महिनाभित्र शुल्क फिर्ता नगरे बैठकले कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ। सरकारले यसअघि पनिे तोकेभन्दा बढी शुल्क लिएको भए फिर्ता गर्न केहि मेडिकल कलेजलाई निर्देशन दिएको थियो।
शिक्षामन्त्री पोखरेलले बढी शुल्क लिएका सम्बन्धित कलेज रहेको जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सकिने बताउँदै तोकिएको बाहेक अन्य शुल्क फिर्ता नगरे कारबाही गर्न प्रस्ताव राखेको जानकारी दिए।
सरकारले काठमाडौं उपत्यकाभित्र एमबिबिएस अध्ययनका लागि ३८ लाख ५० हजार र उपत्यका बाहिर ४२ लाख ५० हजार शुल्क तोकेको छ। तर मेडिकल कलेजहरुले मनलाग्दि शुल्क लिएको भन्दै विभिन्न कलेजहरुमा विद्यार्थीहरुले आन्दोलन गरिरहेका छन्।