एजेन्सी – वर्तमान फुटबल जगतका सुपस्टार लियोनल मेस्सीले यस वर्षको फिफा ‘द बेस्ट’ अवार्ड जितेका छन्। उनले यस प्रतिस्पर्धामा युभेन्टसका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो र लिभरपुलका डिफेन्डर भर्जील भान डाइकलाई पछि पारेका हुन्।
बार्सिलोना एवं अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सीले छैटौं पटक यो अवार्ड जित्दै इतिहास रचेका छन्। उनी फिफा ‘द बेस्ट’ अवार्ड सबैभन्दा धेरै पटक पाउने खेलाडी बनेका छन्। फुटबल इतिहासमा थुप्रै रेकर्डहरु बनाइरहेका मेस्सीले अवार्ड पाएकोमा खुशी व्यक्त गरेका छन्।
उनले आफूलाई अवार्डको हकदार सम्झने सबैप्रति धन्यवाद पनि दिएका छन्। उनले गत सिजन बार्सिलोनालाई ला लिगा उपाधि दिलाउनुका साथै च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुर्याएका थिए। सिजनमा ५८ खेल खेलेका उनले ५४ गोल र २० असिस्ट गरेका थिए।
मेस्सीले यसअघि २००९, २०१०, २०११, २०१२ र २०१५ मा यो उपाधि उचालेका थिए। अघिल्लो वर्षको फिफा ‘द बेस्ट’ अवार्ड भने उनी शीर्ष ३ मा समेत परेका थिएनन्। शालिन तथा अनुशासित खेलाडी मेस्सीको फुटबल यात्रा अहिले पनि उत्तिकै जोशमा अगाडि बढिरहेको छ। आगामि दिनहरुमा उनले फुटबलमा अन्य इतिहास रच्ने अनुमान गर्न सकिन्छ।