माधुरी महतो, सर्लाही – सर्लाहीको एक विकट ग्रामिण भेगमा ६० वर्षमाथिकी एक महिलाको जोस र जागरले गाउँकै स्वरुप परिवर्तन भएको छ। उनले घरको काममा मात्रै सिमित नभई घर बाहिर पनि महिलाको उपस्थिती र सहभागीता देखीनुपर्छ भन्ने मान्यताका साथ अगाडी बढी हाल गाउँमा आफुसंगै थुप्रै महिलालाई गर्न सहज तर आम्दानी राम्रो हुने मौरीपालन व्यवसायमा संलग्न गराउन सफल भएकी छन्। उनी हुन् सर्लाही विष्णुपुरकी मिना महत।
मिनाले कुनै तालिम नलिइकन मौरीपालन शुरु गरेकी थिइन्। ‘मौरीपालन नै गर्छु भनेर सोचेकी थिईन, पछि मौरीपालनमै आकर्षित भएपछि मह काढ्न लागियो। अहिले धेरै राम्रो भएको छ,’ आफुँले भोगेका चुनौती, संघर्ष र खुशीको क्षण सम्झदै मिना भन्छिन्, ‘तालिम विना नै सुरु गरेको यो व्यवसायमा पछि मौरीको टोकाईबाट कसरी बच्ने, मह कसरी काढ्ने भनेर एउटा टेलीभिजन कार्यक्रम हेरेर अलिअलि सिके।’
पछि गाउँमै मौरीपालनका लागि चाहिने सिप, मौरीको किसिमबारे हिमवन्ती र रिकप्ट नामक संस्थाले दिएको तालिमबाट सिक्ने अवसर पाएको उनी सुनाउछिन्। ‘घारअनुसार एक घारको २० हजार जति सजिलै आम्दानी लिने गरेका छौँ,’ आम्दनीबारे उनले भनिन्।
महको उत्पादन भन्दा माग नै धेरै आउने गरेकाले विक्री गर्न कुनै समस्या नपर्ने मिना बताउछिन्। सस्तो र सुलभ व्यवसायको रुपमा रहेको मौरीपालन व्यवसायलाई सबै महिलाले सुरु गर्नुपर्ने उनको धारणा छ।
हप्तामा दुई दिन मात्रै मौरीपालनमा ध्यान दिए पुग्ने र त्यो सँगै अन्य खेतीपातीमा समेत समय दिन सकिने भएपछि उनी मौरिपालनमा रमाएकी छन्। थोरै चुनौती भएपनि राम्रै आम्दानी हुने गरेकोले मौरीपालनबाट गाउँका महिलाहरु आत्मनिर्भर भएको मिनाले बताईन्।
मिना भन्छिन्, ‘वृद्धाले के नै गर्न सक्छिन् र भन्ने मानसिकतालाई चुनौती दिदै गाउँका छोरी–बुहारी, छिमेकी महिला, प्राय सबैलाई घरधन्दा मात्रबाट बाहिर निकाली आत्मनिर्भर बनाउने प्रयासमा लागेको छु र सिक्न ईच्छुक महिलाहरुलाई निशुल्क रुपमा मौरीपालनबारे तालिम दिन तयार छु।’ आत्मनिर्भर बन्न ईच्छुक महिलाहरुलाई तालिममा सहभागी हुन उनले आग्रह समेत गरीन्।
मौैरीपालनबाट मनग्ये आम्दानी हुन थालेपछि गाउँका अन्य महिलाहरु पनि आकर्षित भएको र हाल गाउँका अधिकाशं महिलालाई यसमा संग्लन गराएको उनले बताईन्। मौरिपालन गरेरै घरखर्च जोहोे गर्न सकिने र थोरबहुत रकमको लागि कसैप्रति निर्भर रहनु नपर्ने भएकाले मिनाका गाँउले महिलाहरु पनि मिनाकै बाटोमा छन्।
‘मौरीपालन गर्न थालेपछी आफुँलाई स्वतन्त्र र स्वाभिमानी महशुस गर्न थालेकी छु,’ स्थानिय संजु देवी भन्छिन्, ‘मौरीपालनले गर्दा आत्मबिश्वास बढेको छ।’ आफुसंगै श्रीमान्, छोराछोरीले पनि काममा सघाउने गरेकोले आर्थिक पाटो पनि सबल बनेको उनी बताउछिन्।
अर्की स्थानीय महिला मन्जु महत पनि मौरिपालन गर्छिन्। श्रीमान् प्राय विरामी पर्न थालेपछि बिग्रीएको घरको खस्कदो आर्थिक अवस्था सम्हाल्नका लागि उनले मौरीपालन शुरु गरेकी हुन्। ‘बालबच्चाको पढाई खर्च समेत जुटाउन गाह्रो भइरहेको बेलामा मौरीपालन शुरु गरेकी हुँ,’ मन्जु भन्छिन्, ‘अहिले आर्थिक स्थिती सुध्रीएको छ, पढाई खर्चका, घर खर्चलगायत चाडवाडमा पनि तनावमुक्त भएर खुशी मनाउन सक्ने भएकी छु।’
मह औषधी वा स्वादको लागि प्रयोगमा आउने गरेको छ। दैनिक रुपमा राम्रो खपत हुने महका उत्पादनका लागि गरिएको मौरीपालनबाट सर्लाहीको ग्रामीण भेगका महिलाहरु आत्मनिर्भर भएको देख्दा मिना महत खुशी हुने गरेका उनका श्रीमान् राम कुमार महत बताउँछन्।
घरभित्र चुल्हो–चौकाबाहेक अरु केहि नगरेका महिलाहरु अहिले मह बेच्न अन्य विभिन्न जिल्लामा समेत जाने गरेका छन्। उनीहरुमा एकदमै आत्मविश्वास बढेको छ। ‘घरको तरकारी बेच्न त लाज मान्ने महिलाहरु अहिले मह बेच्न कहाँ कहाँ पुगीरहेका छन्,’ रामकुमारले सुनाए, ‘मौरीपालनले महिलाहरुलाई आत्मविश्वासी बनाएको छ।’
मौरिपालनमा काम लाग्ने भएपछि पहिले काम नलाग्ने भनेर फाल्ने गरिएका झाडी, विभिन्न बुट्यानलगायतका विभिन्न वनस्पतीको महत्व पनि बढेको छ। अहिले गाउँका महिलाहरुसंगै पुरुष, युवाहरुलगायत सबै महलाई काम लाग्ने विभिन्न वनस्पती बचाउन लागिपरेका छन्।
महिलाहरुको सहभागीतामा मात्रै संचालित गाउँको सामुदायिक बनमा विगत केही समयदेखी मौरीलाई चाहिने बनस्पती संरक्षण र रोप्ने काम समेत भइरहेको छ। हाल गाऊँमा चिउरी लगायतका वनस्पती २ हजार भन्दा बढी रोपेको र उक्त विरुवा ठुलो भएपछि मौरीलाई धेरै महका लागि सिजन अनुसार अन्तै लान नपर्ने महिलाहरु बताउँछन्।
चिउरीसंगै सिसौ, खयर, मसला लगायतका बोटविरुवा रोप्ने कार्यले पनि महिलालाई आत्मनिर्भर बनाउनुका साथै व्यवसाय फस्टाएको र साथै बातावरण संरक्षण समेत भएको गाउँका सामाजिक अगुवा रमा पौडेलले दावी गरीन्।
पहिले गाउँमा कुनै पनि महिला घरको काम बाहेक कुनै पनि व्यवसायमा संलग्न नरहने अधिकाशं घरका महिला उद्यमी–व्यवसायी बनेका छन्। गाउँको हरेक निर्णयमा महिलाहरुको सहभागिता बढी देखीन थालेको तथा उनीहरुमा नेतृत्व क्षमताको समेत विकास भएको सामाजिक अगुवा पौडेलको अनुभव छ।
महिलाहरुले आर्थिक पाटोलाई सबल बनाउनुका साथै वनजंगल संरक्षण तथा वनजंगललाई हराभरा बनाउने र जलवायु परिवर्तनलाई समेत अभियानको रुपमा अगाडी बढाएकोले गाउँका महिलाहरुमा दृढ एकता शक्ति देखापरेको बताईन्। उनीहरुको कार्यलाई सर्लाहीको हरीवन नगरपालिकाले पनि योजनामा पारेर आगामी दिनमा सक्दो सहयोग गर्ने जनाएको उनले बताईन्।