एजेन्सी– स्पेनिस ला लिगामा रियल म्याड्रिडले ओसासुनाविरुद्ध २–० को सहज जित निकालेको छ। बुधबार घरेलु मैदानमा भएको खेलमा रियलका भिनिसियस जुनियर र रोड्रीगो गोएसले गोल गरेका हुन्।
खराब अवस्थाबाट गुज्रीरहेको रियलले सो खेलका लागि धेरै खेलाडीहरु परिवर्तन गरेको थियो। रियलका लागि गोलकिपरमा डेब्यु गरेका अल्फोन्स आरियोलाले उत्कृष्ट प्रदर्शन गरेका थिए।
राम्रो शुरुवात गरेको रियलले खेलमा अग्रता बनाउन ३६ मिनेट कुर्नपरेको थियो। ३६ औं मिनेटमा टोनी क्रुसको पासमा भिनिसियसले गोल गरेका थिए। पहिलो हाफमा रियल १–० ले अगाडि बढेको थियो।
त्यस्तै दोस्रो हाफमा रियलका लागि रोड्रिगोले गोल गरेका थिए। उनले क्यासेमिरोको पासमा उत्कृष्ट फिनिस गरेका थिए। जितसँगै रियल अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ। रियलको ६ खेलकबाट १४ अंक छ भने १३ अंकसहित एट्लेटिको दोस्रो स्थानमा छ।