एजेन्सी– स्पेनिस क्लब बार्सिलोनाले खेलकुद निर्देशकका लागि क्लबका पूर्व कप्तान कार्लेस पुयोललाई प्रस्ताव गरेको थियो। तर उनले सो प्रस्ताव अस्विकार गरेका छन्।
पुयोलले ट्वीटमार्फत त्यसका लागि आफू तयार नरहेको बताएका छन्। क्लबका अध्यक्ष जोसेप मारिया बार्टोमेउले सेप्टेम्बरको सुरुअवातमा पुयोलसँग वार्तामा रहेको जानकारी दिएका थिए। बार्सिलोनाका तत्कालीन खेलकुद निर्देशक पेप सेगुराले गत जुलाईमा राजीनामा दिएपछि पद रिक्त छ।
पुयोलले बार्सिलोनाबाट ५ सय ९३ खेल खेलेका थिए। उनी स्पेनको राष्ट्रिय टोलीका पूर्व कप्तान पनि हुन्। उनले स्पेनका लागि १०० खेल खेल्दै २००८ को युरोकप तथा २०१० को विश्वकप पनि जिताएका थिए।
उनले निर्देशकको प्रस्ताव अस्विकार गर्नुमा व्यक्तिगत कारण देखाएका छन्। ४१ वर्षीय पुयोलले आफूलाई क्याम्प नोउ घर जस्तै लाग्ने र सधैं आफू क्याम्प नोउ फर्किन इच्छुक भएपनि सो पदको लागि सम्पूर्ण सामथ्र्य लगाउन नसक्ने बताएका छन्।