एजेन्सी– इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलान टोरिनोसँग हारेको छ। मिलानले शुरुवाती अग्रता जोगाउन नसक्दा २–१ गोलको हार बेहारेको हो। मिलान यसअघि इन्टर मिलानसँग २–० ले तथा उडिनेसीसँग १–० ले पराजित भएको थियो ।
टोरिनोको घरेलु मैदानमा भएको खेलमा मिलानले १८ औं मिनेटमा अग्रता बनाएको थियो। मिलानका लागि क्रिजिस्टफ पियाटिकले पेनाल्टीमा गोल गरेका थिए। पहिलो हाफमा १ गोल मात्र भएको खेलको दोस्रो हाफमा २ गोल भएको थियो।
दोस्रो हाफको दुबै गोल टोरिनाको नाममा रह्यो। खेलको ७३ औं मिनेटमा एन्ड्रिया बेलोटीले बराबरी गोल गर्दै टोरिनालाई खेलमा फर्काएका थिए। त्यस्तै बेलोटिले नै ७६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा तोरिनाले खेलमा २–१ को अग्रता बनायो।
त्यसपछि खेलमा अन्य गोल नहुँदा मिलान भने पराजित भयो। हारसँगै मिलान ५ खेलबाट ६ अंक जोडेर १३ औं स्थानमा छ भने टोरिनो ५ खेलबाट ९ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ।