काठमाडौं–प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिताको उपाधि१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जितेको छ। ६४ औं प्रहरी दिवस २०७६ को अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा सो प्रतियोगिता सम्पन्न भएको थियो।
प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै नेपाल प्रहरी खेलकूद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले खेलले व्यक्तिलाई अनुशासित र स्वावलम्बी बनाउने र प्रहरीको जीवनमा खेल अभिन्न अंगको रुपमा रहेको बताए। राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा नेपाल प्रहरीको खेलकुद टिमको उल्लेख्य योगदान भएकोे प्रतिक्रिया दिँदै खेलाडीहरू सदैव जोस, जाँगर र इमानदारीका साथ अगाडि बढ्नुपर्ने बताए।
प्रतियोगितामा विजेता बनेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरलाई नगद ५० हजार ५ सय ५५ रुपैयाँ र उपविजेता ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडालाई ३५ हजार ५ सय ५५ रुपैयाँ एवम् शील्ड, पदक, प्रमाणपत्र तथा सर्वोत्कृष्ट हुने खेलाडीलाई १० हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिएको थियो।
विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई ७ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिएको थियो। १० टीमको सहभागिता रहेको उक्त प्रतियोगिता असोज ५ गतेदेखि ९ गतेसम्म चलेको थियो।