काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ, ईक्यानमा अहिले चुनावी सरगर्मी बढेको छ। आगामी कार्यकालको नेतृत्व हात पार्नका लागि सम्भावित उम्मेद्वारहरु आ–आफ्नो तयारीमा जुटेका छन्।
शैक्षिक परामर्श वृत्तमा चलिरहेको चर्चालाई आधार मान्ने हो भने, यसपटक वर्तमान अध्यक्ष बिष्णुहरी पाण्डे र निवर्तमान अध्यक्ष प्रकाश पाण्डे आगामी चुनावमा नेतृत्वको लागि भिड्नेछन्।
इक्यानबाट ठुलो समुहको बहिगर्मनसँगै इक्यानमा नेतृत्वको प्रतिष्पर्धीहरुको संख्या घट्नु स्वभाविक हो। फलतः यसअघिको चुनावमा बिष्णुहरी पाण्डेलाई जिताउन महत्वपुर्ण भुमिका निर्वाह गरेको भनिएका प्रकाश पाण्डे यसपटक उनैसँग नेतृत्व भिडन्तमा उत्रिने बताइन्छ।
यसअघिको चुनावपछि इक्यानबाट ठुलो समुह बाहिरिएपछि यसपटकको चुनाव बेग्लै रङ्गमा रङ्गीएको छ। भने छुट्टिएको समुह राष्ट्रिय शैक्षिक परामर्श संघ, नेकाको नाममा संगठित भएर आफ्ना गतिविधी गरिरहेको छ।
तर, इक्यानमा बढेको चुनावी तामक्रमले नेकामा पनि केहि असर देखिन थालेको छ। यसअघिको इक्यान चुनावमा अध्यक्षका पराजित उम्मेद्वार एस. के. बस्नेतको नेतृत्वमा नै हालको नेकाका सदस्यहरुले इक्यान परित्याग गरेका थिए।
इक्यान नेतृत्वले ‘निरकुशंता लाद्ने प्रयास गरेको’ भन्दै असन्तुष्ट बनेकाहरुलाई समेटेर नेका गठनको लागि भुमिका निर्वाह गरेका बस्नेत नै अहिले इक्यान फर्कने चर्चासंगै अध्यक्ष पदका सम्भावित उम्मेद्वारद्वय बिष्णुहरी पाण्डे र प्रकाश पाण्डे विभिन्न प्रस्तावसहित बस्नेतसँग भेटघाट गरीरहेको बस्नेतनिकटका व्यवसायीहरु बताउछन्।
यसअघिको इक्यान चुनावमा बिष्णुहरी पाण्डेसँग झिनो मतले पराजित भएका बस्नेत आइडिपीको सहयोग लिएर चुनावमा उत्रीएका थिए। ‘शैक्षिक परामर्श व्यवसायमा बैदेशिक लगानी’बारे ठुलै बिवाद रहेका बेलामा बस्नेत आईडिपीको समर्थन गर्दै चुनावमा होमिएका थिए। उता उनका प्रतिष्पर्धी बिष्णुहरी पाण्डे भने आईडिपीको बिरोधमा थिए।
तर, अहिले माहोल बदलिएको छ। यसअघिको चुनावमा आईडिपीको मुक्तकण्ठले प्रशंशा गर्ने बस्नेत अहिले यूटर्न भएका छन्। ‘पहिला आइडिपीलाई नै प्रयोग गरेर चुनाव लड्नुभयो,’ बस्नेत निकट एक व्यवसायीले भने, ‘अहिले इक्यान फर्कनका लागि फेरी आईडिपीकै बिरोध गरेको सुनिन्छ।’ यसो हुनुको पछाडी बस्नेतले राम्रै प्रस्ताव पाएको उनको ठहर छ।
आफुसँग २० जना भोटर भएको र जता भन्यो उतै भोट हाल्ने भन्दै बस्नेतले आफुँलाई प्रथम उपाध्यक्ष, सह–कोषाध्यक्षसहित दुइ सदस्य माग गरेको दाबि उनि निकट स्रोत गर्छ। साथै आफुले भित्र्याउने सदस्यको सदस्यता शुल्क माफ गर्नुपर्ने माग पनि राखेको बताइन्छ।
सम्भावित उम्मेद्वार प्रकाश पाण्डेले सदस्यता शुल्क माफी र बस्नेतलाई उपाध्यक्ष पद दिने सम्बन्धमा सकरात्मक भएपनि अन्य मागहरु पुरा गर्न नसकिने बताएपनि वर्तमान अध्यक्ष विष्णुहरि पाण्डेले भने आफुँले निरन्तर सम्पर्कमा रहेर सरसल्लाह गरेको हुदाँ अरुसँग बार्गेनिङ्ग नगर्न भन्दै आफ्नै टिमले सन्तुस्ट बनाउने बाचा दिएको बताइन्छ।
यता बस्नेत इक्यान फर्कने चर्चाले नेका वृत्तमा भने आक्रोस देखिन्छ। ‘हामी इक्यान नेतृत्वको कार्यशैली चित्त नबुझेर नेका खोल्न बाध्य भएका थियौ,’ नेकाका एक सदस्यले भने, ‘र यो सब बस्नेतजीकै नेतृत्वमा भएको हो, अहिले उहाँ निजी स्वार्थका लागि फेरी इक्यान जादैँ हुनुहुन्छ रे, यो त उहाँको अवसरवादी प्रवृत्ती हो।’ बस्नेतले निहित स्वार्थका लागि नेकालाई धोका दिएको उनीहरुको भनाई छ।