धरान– गायक डिल्ली फोम्बो, प्रशान्त शर्मा र दिनेश ढुङ्गेलले ‘शिक्षाका लागि सङ्गीत’ अभियान सञ्चालन गदै आएका छन्। यसपटकको अभियान अन्तर्गत सङ्कलन भएको रकमबाट उनीहरूले धनकुटाको धारापानीस्थित महाभारत प्राविका विद्यार्थीलाई शैक्षिक सामग्री झोला , जुत्ता र स्वेटर सहयोग गर्ने बताएका छन्।
तीन वर्षदेखि सञ्चालन भइरहेको शिक्षाका लागि सङ्गीत अभियानमा शुरुमा प्रशान्त र दिनेश थिए। ‘ भेडेटारभन्दा अलि तल रहेको यो विद्यालयमा हामी पुग्दा विद्यार्थी खाली खुट्टा थिए, झोला थिएन’ गायक फोम्बो भन्छन्, ‘विद्यार्थीको अवस्था देखेपछि सहयोग गर्ने सल्लाह भयो। अभिभावकहरूले स्वेटर पनि माग गरे।’
ती सामग्री जुटाउन अभियान चलाएका अभियानअन्तर्गत उनीहरूले कात्तिक १ गते भानुचोकमा बृहत् साङ्गीतिक कार्यक्रम गर्ने जनाएका छन्। कार्यक्रममा गायक युगेश लिम्बू पनि सहभागी हुन अमेरिकाबाट आउने गायक फोम्बोले बताए।
डिल्ली यसपटकबाट थपिएका हुन्। उनीहरूले महाभारत स्कुलका विद्यार्थीलाई अर्को वर्षपछि सहयोग जुटाउने सोच बनाएका छन्। डिल्ली भन्छन् ‘हामी आफूले जानेको सङ्गीत कर्मबाट सङ्कलन गरेको रकम सहयोग गर्छौं। अरूलाई पनि सकेको सहयोग गर्न आग्रह गरेका छौं।’