एजेन्सी– स्पेनिस ला लिगा फुटबलमा रियल सोसिडाडविरुद्ध सेभिल्ला विजयी भएको छ। आइतबार राति भएको रोमाञ्चक खेलमा घरेलु टोली सेभिल्लाले रियल सोसिडाडमाथि ३–२ को जित निकालेको हो।
प्रतिस्पर्धात्मक खेलमा रियल सोसिडाडका मिकेल ओएरजावालले ४ मिनेटमा नै गोल गर्दै पाहुना टोलीलाई शुरुवाती अग्रता दिलाएका थिए। तर, पाहुना टोलीको त्यो अग्रता लामो समय टिकेन। १८ औं मिनेटमा घरेलु टोली सेभिल्लाका नोलिटोले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए।
पहिलो हाफ १–१ गालेको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा थप ३ गोल भएको थियो। दोस्रो हाफको शुरुमै ओकाम्पसले गोल गर्दै सेभिल्लालाई खेलमा २–१ को अग्रतामा पुर्याए। त्यस्तै खेलको ८० औं मिनेटमा फ्रान्को भास्क्वेजले गोल गरेपछि घरेलु टोली ३–१ को स्थितिमा पुगेको थियो। ८७ औं मिनेटमा क्रिस्टियन पोर्टुले गोल गर्दै सोसिडाडलाई खेलमा फर्काउने प्रयास गरेतापनि अनय गोल गर्न नसक्दा सेभिल्ला ३–२ गोलले विजयी भएको हो।
ला लिगामा यस जितसँगै सेभिल्ला ७ खेलबाट १३ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ। समान १३ अंक रहेको सोसिडाड गोल अन्तरका आधारमा पाँचौ स्थानमा छ। रियाल म्याड्रिड १५ अंकसहति शीर्षस्थानमा छ।