एजेन्सी– इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानले अहिलेसम्मकै खराब प्रदर्शन गरिरहेको छ। आइतबार राति घरेलु मैदानमा भएको खेलमा मिलान फियोरेन्टिनासँग ३–१ गोलले पराजित भएको छ।
खेलको १४ औं मिनेटमा इरिक पुल्गरको पेनाल्टीमा गोल गर्दा पाहुना टोलीले खेलमा अग्रता बनाएको थियो। ५५औं मिनेटमा घरेलु टोली मिलानका माटियो पाब्लो मुसाकचियोलाई रेफ्रीले रातो काड दिएपछि घरेलु टोली १० खेलाडीमा समेटिएको थियो। दबाबमा परेको मिलानविरुद्ध ६६ औं मिनेटमा गेइटानो क्यास्ट्रोभिल्लीले गोल गर्दै फियोरेन्टिनाको अग्रता दोब्बर बनाए।
त्यस्तै खेलको ७८ औं मिनेटमा रिवेरीले गोल गर्दा फियोरेन्टिना ३–० को बलियो स्थितिमा पुगेको थियो। ८० औं मिनेटमा मिलानका राफयल लियोले सात्वना गोल फर्काएका थिए।
सिरी ‘ए’ को शुरुवाती ६ खेलमा मिलानले ४ खेल हारिसकेको छ। दुई खेलमा जित हात पारेको छ। हारसँगै मिलान ६ अंकको साथ १६ औं स्थानमा छ भने फियोरेन्टिना ८ अंकसहित नवौं स्थानमा छ।