काठमाडौं– असोज २४ मा रिलिज हुने तयारीमा रहेको चलचित्र ‘छ माया छपक्कै’ अहिले विवादमा फसेको छ। चलचित्र प्रमोशनका लागि प्रयोग गरिएको दुर्गेश थापाको तिज गित ‘बिच–बिचमा’ मा यसपाली दिपाश्री ब्याउने कुरा छ भनेर प्रयोग गरिएको शब्दले अहिले सामाजिक सञ्जाल पुरै तातेको छ।
चलचित्र प्रचारको लागि यस्तो नराम्रो शब्द प्रयोग गरियो भनी चारैतिर बाट आलोचना हुन थालेपछि चलचित्रका लेखक, निर्माता र कलाकार दिपकराज गिरीले यस बारेमा प्रष्ट पारेका छन्। उनले भनेका छन् ‘दिपाको बिहे भएको छैन, पहिले बिहे हुन्छ, हामीले गीतमा यसपाली दिपाको बिहे हुने संवाद राख्न खोजेको तर गितको मर्म मर्ने भएको कारण हामीले ब्या–हुने छ भनेर नै राखेको हाे।’
‘नेपालका विभिन्न ठाउँमा नेपाली भाषा फरक प्रकारले बोलिन्छ, जस्तो तपाईँ कहाँ जान लाग्नु भएको भनेर सोध्नु परेमा, तपाईँ कहाँ जान्ला, भनेर सोध्ने गरिन्छ, त्यस्तै तपाईँले के खानु भएको भनेर सोध्दा के खान्ला, भनेर सोधिन्छ। यही शैलीमा हामीले यसपाली दिपाश्री ब्याउने कुरा छ भनेर राख्यौं, शब्दलाई कसरी बुझ्ने भन्ने हो, हामीले विगतमा पनि त्यस्ता छाडा शब्द राखेर चलचित्र बनाएका छैनौं, र बनाउने पनि छैनौं। किनकि हामीले हाम्रा बुवा, आमा, दाजुभाई स–परिवारले सँगै बसेर हेर्ने चलचित्र नै बनाउँदै आएका छौं,’ उनले थपे।
यसलाई अन्यथा नबुझिदिन उनको आग्रह छ। दिपेन्द्र लामाको निर्देशन रहेको चलचित्रमा दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट, केकी अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ।