काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक एवम् सांसद शान्ता चौधरीले ‘जिन्दगी’ र ‘वियोग’ नामक गीति एल्बम निकालेकी छन्।
सचेतक चौधरी र नेकपाकी अर्की नेतृ भगवती न्यौपानेको रचना रहेको एल्वम् मंगलवार प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्ने कार्यक्रम रहेको सांसद चौधरीले बताइन्। गीतमा गायिका अञ्जु पन्त, गायक बद्री पंगेनी र शिशिर योगीले स्वर दिएका छन्।
कमलरी पृष्ठभूमिबाट भूमिअधिकारको अभियान हुँदै मूलधारको राजनीतिमा आएकी सांसद चौधरीले यसअघि आफ्नो जीन्दगीको भोगाइलाई ‘कमलरीदेखि सभासद्सम्म’ पुस्तकमा उतारेकी छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेकी छन, ‘आदरणीय महानुभावहरु, शुभेच्छुक, शुभचिन्तकहरुले किताब पढेर हौसला प्रदान गर्नुभयो जसले गर्दा मलाई आफ्नो नेतृत्व विकासमा उर्जा मिल्यो। फेरि जिन्दगीको भोगाईलाई शब्दमा उतारेर संगीत भरें।’
उनले उक्त सार्वजनिक कार्यक्रममा उपस्थितिका लागि सम्पूर्णलाई निमन्त्रणा गरेकी छन्। साथै सोही अवसरमा नेकपा तनहुँकी अर्की नेत्रृ भगवती न्यौपानेले लेखेकोे देशभक्ति गीतको श्रव्य, दृश्य सामग्री पनि सार्वजनिक हुँदैछ।