इलाम– विगत चार दिनदेखिको अविरल वर्षाका कारण इलामकोे जनजीवन प्रभावित भएको छ। लगातारको वर्षाले सहजरुपमा सर्वसाधारणले आफ्ना काम गर्न पाएका छैनन् भने विजयदशमी शुरु भइसक्दा पनि बजारमा चहलपहल बढेको छैन। दिनभरिनै झरीसँगै चिसो हावा चल्ने गरेकाले सर्वसाधारणको जनजीवन कष्टकर बनेको छ।
वर्षाले गाउँघर तथा शहर बजारका धेरै सडक हिलाम्य भएपछि आवतजावत तथा हिँडडुलमा सर्वसाधारणले सास्ती खेप्नु परेको छ। इलामकाे माइजोगमाई सडकको धेरै ठाउँमा बाटो हिलाम्य भएको छ। निरन्तरको वर्षाका कारण जिल्लास्थित नदीमा जलस्तर बढे पनि भौतिक र मानवीय क्षति अहिलेसम्म नभएको अवरुद्ध सडकले पहाडी क्षेत्रको जनजीवन कष्टकर रहेको छ।
चार दिनदेखि आएको निरन्तर वर्षाका कारण इलाम जिल्लाको पहाडी क्षेत्रको माइजोगमाई नयाँबजार गाउँपालिका क्षेत्र जोड्ने सडक भत्केर अवरुद्ध बन्न थालेपछि दशैँ नजिक आउँदै गर्दा यसक्षेत्रको जनजीवन कष्टकर बन्न पुगेको छ। बिहीबारदेखि निरन्तर वर्षा भएपछि जिल्लाको पहाडी क्षेत्रको इलामबाट माइजोगमाई जोड्ने सडक अवरुद्ध भएकाले यातायात सेवासमेत सुचारु हुन नसक्दा दशैँ नजिक आउँदै गर्दा जनजीवन कष्टपूर्ण बन्न पुगेको माइजोगमाई गाउँपालिका पुष्प बहादुर खत्रीले बताए।
गत असारको अन्तिम हप्ता आएको भीषण वर्षाले भत्काएको माइजोगमाई सडकखण्ड बन्द भएको एक महीनापछि बल्ल भदौको पहिलो हप्ताबाट सुचारु भए पनि पुनः वर्षाका कारण बन्द हुन पुगेको माइजोगमाई गाउँपालिकाकी उपाध्यक्ष सावित्रा भट्टाराई बताइन्। सडक अवरुद्ध भएर यातायात बन्द हुन पुगेपछि दशैँका लागि आवश्यक पर्ने खाद्यान्न, दैनिक उपभोग्य वस्तुको अभाव शुरु भएको पनि सो गाउँपालिकाका जनप्रतिनिधि बताउँछन्।
दशैँको बेला आवश्यक पर्ने चामल, चिनी, तेल, लत्ताकपडादेखि अन्य उपभोग्य वस्तु खरीद गर्ने बेलामा पुनः सडक अवरुद्ध भएपछि यस क्षेत्रको जनजीवन पुनः कष्टकर बन्न थालेको सो गाउँपालिका–५ का विर बहादुर खत्री बताउछन्। भदौको पहिलो हप्ताबाट सडक सुचारु भएर यातायातका साधन सञ्चालनमा आएसँगै जनजीवन सामान्य बन्दै गएपछि फेरि दशैँ नजिक आएसँगै आएको वर्षाको कारण सडक अवरुद्ध भएको हो।
स्थानीय भरत राईले बल्ल दशैँको समयमा चामल, तेल, मसला र नानीहरुका लागि लत्ताकपडासहितका दैनिक उपभोग्य वस्तु किन्नुपर्ने बेला सडक अवरुद्ध हुन पुगेकाे र यसपटकको दशैँ पुनः खाद्यान्न सङ्कटको अभावमा बित्ने अवस्था आएको बताए। गाउँपालिकाका जनप्रतिनिधिले असारको वर्षाले सडक भत्काएर खाद्यान्न अभाव भएकाे र फेरी सडक अवरुद्ध हटाउन पनि दशैँअघि नसकिने अवस्था भएका कारण जनता समस्यामा परेको जानकारी दिए।