काठमाडौं – बडा दशैंको पूर्वसन्ध्यामा गुल्मीको मेदाने गाउँपालिका संगीतमय हुँदैछ। स्थानीय युवाहरुले बाँझकटेरी उच्च माध्यामिक विद्यालयको प्राङ्गणमा वृहत साङ्गीतिक कार्यक्रम गर्दैछन्।
कार्यक्रममा चर्चित लोकदोहोरी गायक, नृत्यकार एवं हास्य कलाकारको उपस्थिती हुनेछ। कार्यक्रमको आयोजना मदाने युवा क्लवले गर्न लागेको हो । क्लबका अध्यक्ष जयप्रकाश भुसालका अनुसार उक्त कार्यक्रममा खेलकुद लगायत साङ्ंगीतिक कार्यक्रम हुनेछ। ‘साङ्ंगीतिक प्रस्तुतीका लागि करिब एक दर्जन कलाकार निम्त्याएका छौं’ भुसाले भने।
असोज २३ गतेदेखि तीन दिनसम्म चल्ने कार्यक्रममा शुरुको दुई दिन खेलकुद खासगरी भलिबल प्रतियोगिता हुनेछ। अन्तिम दिन सांस्कृतिक कार्यक्रम हुने क्लवका सचिव विक्रम घर्ती मगरले बताए।
सांस्कृतिक कार्यक्रममा इन्द्र जिसी, सुमित्रा मुखिया, तेजश रेग्मी, सन्तोष लम्साल, सन्तु थापा, शिशिर भुसाल, सुनिल थापा, कुन्जमणि थापा, कमलसिंह झांक्री मगर, वी पी भुसाल (हास्य कलाकार), ईश्वरी घिमिरे, सिर्जना झांक्री मगर, तुल्सीराम भुसाल, रियल आर एल भुसाल (डान्सर), बोम ब घर्ती आदिले आ-आफ्नो प्रस्तुती दिनेछन्।
कार्यक्रममा त्यहाँको मौलिक भाका झाम्रे भाकाका गीतहरु सुन्न सकिनेछ। विभिन्न सामाजिक गतिविधि गर्दै आएको क्लबले बर्षमा एक पटक भने मनोरञ्जनात्मक कार्यक्रम गर्ने गरेको छ। यसअघि क्लवको अगुवाईमा आँखा शिविर, दुःखी-पीडितलाई औषधी-उपचार खर्च जुटाउने, शैक्षिक सामाग्री उपलब्ध गराउने जस्ता गतिविधि हुँदै आएको छ।
‘सामाजिक कार्यक्रमका साथै सांस्कृतिक उत्थान र मनोरञ्जनलाई पनि समेट्दै लगेका छौं’ क्लवका वरिष्ठ उपाध्यक्ष शिशिर भुसाल भन्छन्। गुल्मी, बागलुङ, अर्घाखाँची, प्युठानका दर्शक आउने भएकोले यसपाली कार्यक्रम अलि पृथक हुने बताएका छन्।