एजेन्सी – च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब युभेन्टसले जर्मन बायर लिभरकुसेनलाई हराएको छ। मंगलबार राति भएको खेलमा युभेन्टसले फरवार्ड क्रिस्टियानो रोनाल्डो, गोन्जालो हिगुआइन र फेडरिकोको गोलमा ३–० को जित निकालेको हो।
घरेलु मैदान टुरिनमा भएको खेलमा युभेन्टसले १७ औं मिनेटमा अग्रता बनाएको थियो। युभेन्टसका लागि सो गोल हिगुआइनले गरेका थिए। पहिलो हाफमा खेल १–० मा सकिएको थियो। दोस्रो हाफको ६२ औं मिनेटमा फेडरिकोले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर बनाएका थिए। त्यस्तै खेलको ८९ औं मिनेटमा पाउलो डिब्यालको पासमा रोनाल्डोले ऐतिहासिक गोल गर्दा युभेन्टसले जित हात पार्यो।
उक्त गोलसँगै रोनाल्डाले किर्तिमान बनाएका छन्। च्याम्पियन्स लिगमा ३३ क्लबविरुद्ध गोल गर्ने उनी एक मात्र खेलाडी बनेका छन्। उसो त रोनाल्डोले च्याम्पियन्स लिगमा अरु पनि थुप्रै रेकर्डहरु बनाइसकेका छन्। च्याम्पियन्स लिगमा एक सिजन बढी गोल गर्ने खेलाडी र सर्वाधिक ६ पटक फाइनल खेल्ने उनी एक मात्र खेलाडी हुन्।
समुह ‘डी’ स्पेनिस क्लब एट्लेटिको मड्रिड शीर्षस्थानमा छ भने युभेन्टस २ खेलबाट ४ अंक जोड्दै दोस्रो स्थानमा छ।