हेटौंडा– मकवानपुरमा विद्यालय बनाउन भन्दै जापान सरकारले रु एक करोड आर्थिक सहयोग गरेको छ। अति सीमान्तकृत समुदायको रुपमा रहेको चेपाङ बाहुल्य विकट राक्सिराङ गाउँपालिका–२ सरिखेतको कुडुलेमा रहेको प्रजा प्रगति आधारभूत विद्यालयको भवन बनाउन जापानी राजदूतावासले रु एक करोड सहयोग गर्ने सम्झौता गरेको हो।
जापानी राजदूतावासका डेपुटी चिफ अफ मिसन युजो योशियोका र विद्यालयका प्रधानाध्यापक गोपालप्रसाद चौधरीले जापानी दूतावासमा आयोजित कार्यक्रमकाबीच सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको विद्यालयले जनाएको छ। प्रदेश ३ का प्रदेशसभाका प्रमुख प्रतिपक्षीदलका नेता इन्द्रबहादुर बानियाँको विशेष पहलमा जापानी राजदूतावासले राक्सीराङ २ सरिखेत कुंँडुलेमा रहेको प्रजा प्रगति आधारभूत विद्यालयको शौचालय र स्नानकक्षसहितको ६ कोठे भवन बनाउन रु एक करोड सहयोग गरेको जनाइएको छ।
विकट क्षेत्रमा रहेको यस विद्यालयमा कक्षा–८ सम्म पठनपाठन हुने र ८० प्रतिशत चेपाङ जातिका बालबालिका अध्ययन गर्ने प्रजाप्रगती स्कुलको ६ कोठे भवन आगामी २०७७ असोज १४ गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौतापत्रमा उल्लेख छ। राक्सीराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले अवको दिनमा विकट राक्सीराङका पिछडिएका चेपाङ तथा प्रजाका बालबालिकाले ढुक्कसँग पठनपाठन गर्न पाउने बताएका छन्। (रासस)