काठमाडौं– नेपाली कथानक चलचित्र ‘पोई पर्यो काले’को कमेडी, सस्पेन्स र भावनाले भरिएको ट्रेलर भर्खर मात्र सार्वजनिक भएको छ। कात्तिक ८ गतेबाट यो चलचित्र रिलिज हुँदैछ। चलचित्र ‘पोई पर्यो काले’ मा शिशिर राणाको कथा तथा निर्देशन छ।
चलचित्रको ट्रेलरमा कालो बर्णको केटा मन नपराउने एक यूवतीको जीवनमा आइपर्ने घटनाक्रमलाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ। चलचित्रमा नायक सौगात मल्ल, आकाश श्रेष्ठ, सोहित मानन्धरको साथमा नायिकाहरु पूजा शर्मा, श्रृष्टी श्रेष्ठ लगायतको मुख्य भूमिका छ। चलचित्र नायिका पूजा शर्मा र नायक सौगात मल्लको वरिपरी घुमेको छ।
चलचित्रको ट्रेलरले दर्शकलाई उत्सकुता पैदा गरेको छ। तिहारको समयमा चलचित्र हेरेर दर्शकले मनोरञ्जन लिने कुरामा यसको निर्माणपक्ष विश्वस्त देखिएको छ।
‘रेड बर्ड’ प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रलाई किरण नेपालीले प्रस्तुत गरेका हुन्। दिपक मनाङ्गे र सरोज नेपाली चलचित्रको निर्माताको रुपमा छन् भने अमलादेवी राई कार्यकारी निर्माताको रुपमा छिन्। चलचित्रमा लालबहादुर क्षेत्री र अर्जुन पोखरेलको संगीत, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी, तारा थापाको सम्पादन, शिव ढकालको छायाङ्कन छ।