काठमाडौँ– त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको छ। त्रिविको उपकुलपतिका लागि गठित नाम सिफारिस समितिले डा. भगवान कोइरालासहित तीन जनाको नाम सिफारिस गरेको हो।
गत भदौ ५ गते तीर्थ खनियाँको समयावधि सकिएपछि सरकारले शिक्षामन्त्री गिरीराजमणि पोखरेलको संयोजकत्वमा त्रिविको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस समिति गठन गरेको थियो।
समितिले आफ्नो सिफारिस प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइसकेको मन्त्री पोखरेलले भने समितिले तीन जनाको नाम सिफारिस गरेको छ। मन्त्री पोखरलेले भने, अव त्रिविले चाँडै उपकुलपति पाउने छ।
पोखरेलका अनुसार त्रिविको उपकुलपतिका लागि सिफारिस तीन जनामा डा.भगवान कोइराला, डा. धर्मकान्त बास्कोटा र डा.चन्द्रमणि पौडेल छन्।
तीमध्ये एक जनालाई सरकारले त्रिभुवन विश्व विद्यालयको उपकुलपति नियुक्त गर्नेछ। त्रिविको उपकुलपति हुन एक दर्जन बढीले आकांक्षा देखाएका थिए। आकांक्षीहरुले विभिन्न शक्तिकेन्द्र समेत गुहारे पनि अन्ततः कोइराला, बास्कोटा र पौडेलको नाम सिफारिस भएको हो।
डा. कोइराला वरिष्ठ मुटुरोग विशेषज्ञ हुन भने डा. बास्कोटा तत्कालीन नेपाल मेडिकल काउन्सिलका अध्यक्ष हुन् । उनले हालैमात्र अवकास पाएका थिए।
डा. पौडेल त्रिविकै पूर्वरजिष्ट्रार हुन्। उनलाई सरकारले २०७४ सालमा राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा समेत नियुक्त गरेको थियो। यसअघि निमित्त उपकुलपतिको जिम्मेवारी पाएकी सुधा त्रिपाठीको नाम भने सिफारिसमा परेको छैन।