कावसोती– बडादशैँसँगै जिल्लामा रहेका पर्यटकीयस्थलमा चहलपहल देखिएको छ। दशैँको अवसरमा हुने बिदाका कारण नवलपुरमा रहेका विभिन्न पर्यटकीयस्थलमा आन्तरिक पर्यटकको चहलपहल देखिएको छ। चाडपर्वसँगै परिवारसहित घुमफिर गर्ने प्रवृत्ति पछिल्लो समयमा बढ्दै जाँदा अहिले जिल्लामा रहेका पर्यटकीय क्षेत्रमा पर्यटकको चहलपहल देखिएको छ। अन्य समयमा प्रायः सुनसानजस्ता देखिने पर्यटकीय क्षेत्रमासमेत अहिले आन्तरिक पर्यटकको आगमन बढेको छ।
नवलपरासी पूर्व नवलपुरमा रहेका धार्मिकसँगै अन्य मनोरमस्थलमा पर्यटकको चाप बढेको छ। नवलपरासी पूर्व नवलपुरका गैँडाकोटमा रहेको मौलाकालिका, दाउन्नेमा रहेको दाउन्ने देवी, सिजी शाश्वतधाम, नारायणी तटीय क्षेत्र, त्रिवेणी धाम, लोसेधार, पोखरीताललगायतका पर्यटकीयस्थलमा आन्तरिक पर्यटकको चाप बढेको छ। जिल्लाको धार्मिक पर्यटकीय क्षेत्रमध्येको एक मौलाकालिकामा अहिले अन्य समयमा भन्दा दोब्बर आन्तरिक पर्यटक दर्शन गर्न र घुम्नका लागि आउने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शालिकराम सापकोटाले बताएका छन्।
दाउन्नेको दाउन्ने मन्दिरमा अहिले दैनिक एक हजारभन्दा धेरै आन्तरिक पर्यटक दर्शनका लागि पुग्ने गरेका छन्। देवचुली नगरपालिकामा रहेको शाश्वतधाममा अन्य स्थानमा भन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन्। सिजीका जनसम्पर्क अधिकृत रामचन्द्र धितालका अनुसार बडादशैँ शुरु भएसँगै शाश्वतधाम घुम्न आउने पर्यटको सङ्ख्या दैनिक पाँच हजारको हाराहारीमा रहेको छ।
राजमार्गसँगै जोडिएको र आकर्षक मन्दिरसहितको स्थल भएकाले शाश्वतधाममा दैनिकजसो सयौँको सङ्ख्याका आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन्। अन्यसमेतको तुलनामा अहिले शाश्वतधाममा आउने पर्यटकको सङ्ख्या उलेख्य रुपमा वृद्धि भएको जनसम्पर्क अधिकृत धितालले बताएका छन्। जिल्लाकै अर्को महत्वपूर्ण धार्मिकस्थल त्रिवेणीधाममा समेत सयौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन्।
यहाँ नवलपरासीसहित चितवन, रुपन्देही, कपिलवस्तुलगायत आसपासका जिल्ला र भारतबाट पर्यटक आउने क्रम अन्य समयको तुलनामा बढेको छ। नवलपरासीको अमलटारी हुँदै जङ्गल सफारीमा आउने आन्तरिक पर्यटकको सङ्ख्यासमेत अहिले बढेको अमलटारी घरबासका व्यवस्थापक धनीराम गुरौले बताएका छन्। यी क्षेत्रसँगै रुद्रपुरगढी, पोखरी ताल, महाराज थान, बालीघाटलगायतका क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ। (रासस)