एजेन्सी– युरोकप २०२० को लागि इटाली छनोट भएको छ। अर्काे वर्ष पोर्चुगलमा आयोजना हुने युरोकपमा स्थान बनाउने इटाली २०२० को लागि छनोट हुने दोस्रो टोली हो।। यसअघि बेल्जियमले युरोकपमा स्थान पक्का गरिसकेको छ।
समुह ‘जे’ मा अपराजित रहेको इटालीले ७ खेलबाट २१ अंक जोड्दै शीर्षस्थानमा रहेर युरोकपको लागि छनोट हुन सफल भएको हो। इटालीले दोस्रो स्थानमा रहेको फिनल्यान्डलाई ९ अंकले पछि पारेको छ।
समूहको सातौ चरणको खेलमा इटालीले शनिबार राति ग्रीसलाई २–० ले पराजित गरेको छ। इटालीको सहज जितका चेल्सीका मिडफिल्डर जर्गिन्हो र फेडरिको बेनारडेस्चीले गोल गरेका थिए।
इटालीलाई पहिलो गोलको लागि पेनाल्टी नै कुर्नुपरेको थियो। ६३औं मिनेटमा आन्द्रियस बौचालाकिसले पेनाल्टी बक्समा लोरेन्जो इनसिग्नेको प्रहारलाई सोझै हातले रोकेपछि रेफ्रीले इटालीलाई पेनाल्टीको मौका दिएको थियो । जसमा जर्गिन्हो चुकेनन्। त्यस्तै ७८ औं मिनेटमा वैकल्पिक खेलाडी फेडरिको बेनारडेस्चीले गोल गर्दै इटालीलाई २–० को जित दिलाए। जित सँगै इटालीले युरोकपमा स्थान बनाएको हो।