एजेन्सी– बलिउड अभिनेता सलमान खानले संचालन गर्ने रियालिटी शो ‘बीग बोस’ विवादमा परेको छ। १३ औं श्रृङ्खला प्रशारण भैरहेको भारतीय टेलिभिजनको चर्चित रियालिटी शोले भारतमा अश्लिलता फैलाएको आरोप समेत लागेको छ।
राजस्थान केन्द्रित कर्नी सेनाले यो शोको विरोध गर्दै शो बन्द गर्न चेतावनी दिएको छ। शोको विरोधमा सलमानको घर अगाडि प्रदर्शनसमेत हुन थालेको छ। शुक्रबार सलमानको घर अगाडि प्रदर्शन गर्नेलाई मुम्बई प्रहरीले पक्राउ गरेको छ। राजस्थान केन्द्रित विश्व सनातन संघका महासचिवसहित २० जनालाई पक्राउ गरिएको बताइएको छ।
सलमानले उक्त शोमा ‘बेड फ्रेन्ड्स’ को घोषणा गरेका छन्। जसमा केटा र केटीले एउटै बेड शेयर गर्न सक्ने बताइएको छ। कतिपयले सलमानको घोषणाको विरोध गरेका छन्। सलमानको शो भारतको संस्कार र संस्कृतिविरुद्ध भएको बन्दै शो बन्द गर्न दबाब आउन लागेको बताइएको छ।
कर्नी सेनाले त भारतका सूचना तथा प्रशारण मन्त्रीलाई पत्र लेख्दै शो रोक्न अपिल समेत गरेको भारतीय मिडियाले बताएका छन्। अहिले सलमानको घर अगाडि सुरक्षा कडा गरिएको छ।