काठमाडौं – नायक अनमाले केसी अहिले चलचित्र ‘धुपौरे’ को तयारीमा जुटेका छन्।
मंसिरबाट छायाङ्कन हुने चलचित्रको वर्कशप पनि धमाधम भैरहेको छ। आफ्नै होम प्रोडक्शनको चलचित्र ‘एन्टी हिरो’को कामलाई पछि सारेर अनमोल यो चलचित्रमा काम गर्न तयार भएका हुन्। साम्तेन भुटियाले निर्देशन गर्ने यो चलचित्रले एक जुवाडेको कथालाई उठान गर्नेछ।
नायक अनमोल यो चलचित्रको कथावस्तुलाई लिएर उत्साहित छन्। चलचित्रले प्रेमको कथा पनि भन्नेछ। यो चलचित्रको लागि अनमोल आफै लोकेशन हन्टिङमा निस्किएका छन्। साथै अनमोल यो चलचित्रमा काम गर्न धेरै उत्साहित भएका छन्।
यसअघि अनमोल चलचित्रको लोकेशन हेर्न यसरी खासै निस्किएका थिएनन्। उनी, आफ्नै होम प्रोडक्शनको चलचित्रका लागि पनि लोकेशन हन्टिङमा निस्किएको पाइदैन। तर, यसपटक भने उनी आफै चलचित्रको लोकेशन हेर्न निस्किएका छन्।