एजेन्सी– आइतबार साँझ अर्जेन्टिना र इक्वेडरबीच खेल हुँदैछ। अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा दुई टोली एक आपसमा भिड्न लागेका हुन्। खेल नेपाली समयअनुसार ७ः४५ मा शुरु हुनेछ।
यसैबीच अर्जेन्टिनाको शुरुवाती ११ खेलाडी घोषणा गरिएको छ। प्रशिक्षक लिओनल स्कालोनिले घोषणा गरेको प्लेइङ ११ मा पाउलो डिबाला भने परेनन्। अर्जेन्टिनाको आक्रमण भने लौटारो मार्टिनेजले सम्हाल्नेछन्। पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेका उनले अघिल्लो खेलमा २ गोल गरेका थिए।
अर्जेन्टिनाको गोलकिपरमा अगुस्टित मार्चेसिन छन्। डिफेन्डरमा मार्काेस अकुन्ना, जाउन फ्योत, वाल्टर कान्नेमान र जर्मन पेजेल्ला छन्। मिडफिल्डरमा डे पाउल, निकोलस गोन्जालेज र लियान्ड्रो पारेडसलाई राखिएको छ। त्यस्तै फरवार्डमा लुकास अलारियो, लौटारो मार्टिनेज र लुकास ओकाम्पोस रहेका छन्।
अहिलेसम्म १४ खेलमा एक अर्काविरुद्ध मैदान उत्रिएका दुइ देशमध्ये अर्जेन्टिनाले ७ वटामा जित, इक्वडरले ३ मा जित तथा ४ खेल बराबरीमा सिकएको छ। पछिल्लो खेलमा भने अर्जेन्टिना इक्वेडरविरुद्ध ३–१ ले विजयी भएको थियाे।