एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा अर्जेन्टिनाले इक्वेडरविरुद्ध फराकिलो जित निकालेको छ। गएराति भएको खेलमा अर्जेन्टिना इक्वेडरमाथि ६–१ गोलले विजयी भएको हो।
खेल शुरु भएको २० औं मिनेटमा नै अर्जेन्टिनाले खेलमा अग्रता बनाएको थियो। लुकास अलारियोले खेलको पहिलो गोल गरेका थिए। त्यस्तै २७ औं मिनेटमा इक्वेडरले आत्मघाती गोल गरेपछि खेलमा अर्जेन्टिनाको अग्रता दोब्ब्र भएको थियो। त्यसको केहि मिनेटपछि नै अर्जेन्टिनाले पेनाल्टी पाएको थियो जसमा लौटारो मार्टिनेजबाट बल पास लिई लियान्ड्रो पारेडेसले गोल गरे।
आक्रामक खेलेको अर्जेन्टिनाले दोस्रो हाफमा थप ३ गोल गर्न सफल भयो। इक्वेडरले खेलको ४९ औं मिनेटमा १ गोल फर्काएको थियो। एन्जेल मिनाले उक्र सात्वना गोल गरेका थिए। खेलको ६६ औं मिनेटमा जर्मन पेजेलाले अर्जेन्टिनाको लागि गोल गरेका थिए। त्यसैगरी खेलमा अर्जेन्टिनाका निकोलस डोमिन्ग्वेज र लुकास ओकाम्पसले थप एक एक गोल गर्दा अर्जेन्टिना भारी गोल अन्तरले विजयी भयो।
नियमित कप्तान लियोनल मेस्सी भने प्रतिबन्धका कारण खेलमा सहभागी हुन पाएनन्। धेरै खेलहरुमा अभागी साबित भएको अर्जेन्टिना विश्वकप २०१८ मा क्वाटरफाइनलबाट बाहिरिएको थियो भने केहि समयअघि सम्पन्न कोपा अमेरिकामा तेस्रो स्थानमा चित्त बुझाएको थियोे। पछिल्लो खेल दौरान अर्जेन्टिनी टिममा देखिएको सन्तुलनले उसका फ्यानहरुमा भने आशाका किरणहरु जगाएको छ। खेल दौरान खेलाडीबीच देखिएको तालमेल तथा सम्हालिएको आक्रमणले अर्जेन्टिना बलियो देखिएको छ।