एजेन्सी– बलिउड नायक रणवीर सिंहले हालै चलचित्र ‘८३’ को छायांकन सकाएका छन्। यो चलचित्रको छायांकनपछि रणवीर करण जोहरको निर्माणमा बन्न लागेको चलचित्र ‘तख्त’को तयारीमा लागेका छन्। यो चलचित्रमा रणवीरले नायिका आलिया भट्टसँग जोडी बाध्नेछन्।
चलचित्र ‘गल्ली ब्याई’मा पनि एकसाथ काम गरेको आलिया र रणवीरको जोडी पर्दामा दोहोरिन लागेको हो। तर, हालै मात्र आलियाको मुख्य भूमिका रहने चलचित्रको अफरलाई रणवीरले नकारेका छन्। संजयलीला भन्सालीको नयाँ चलचित्र ‘गंगुबाई’को अफरलाई रणवीरले अस्वीकार गरेका हुन्।
यो चलचित्रको लागि निर्देशक भन्सालीले नै रणवीरलाई अफर गरेका थिए। तर, रणवीरले भने यो चलचित्रको प्रस्ताव स्विकारेका छैनन्। केमियो भूमिकाका लागि रणवीरलाई अफर गरिएको थियो। उनको भूमिकाले चलचित्रमा विशेष अर्थ राख्ने बताइएको छ। तर, रणवीरले केमियो भूमिका गर्न अस्वीकार गरेका छन्।
आफूले कुनै पनि नयाँ चलचित्रमा काम गर्दा मुख्य र महत्वपूर्ण भूमिकामा काम गर्नु पर्ने समय भएको भन्दै रणवीरले उक्त प्रस्तावलाई अस्वीकार गरेका हुन्। यसअघि रणवीर र भन्सालीले चलचित्र ‘रामलिला, बाजिराओ मस्तानी, पद्मावत’ लगायतका चलचित्रमा समेत सहकार्य गरिसकेका छन्।