काठमाडौं– नेपाली महिला भलिबल टोली बन्द प्रशिक्षणका लागि थाइल्यान्ड जाने भएको छ। १३ औं दक्षिण एसियाली खेलकुद (साग) एभीसी एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको तयारीमा रहेको नेपाली महिला भलिबल टाली बुधबार थाइल्यान्ड प्रस्थान गर्दैछ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) को सहयोग र नेपाल भलिबल संघको समन्वयमा टालीलाई सो प्रशिक्षणको व्यवस्था मिलाइएको हो। खेलाडी तथा प्रशिक्षकसहितको २२ सदस्यीय टोली थाइल्यान्ड जान लागेको हो। टालीलाई मंगलबार बिदाई गरिने छ। थाइल्यान्डमा नेपाली टोलीले प्रशिक्षणपश्चात् अभ्यास खेल पनि खेल्ने बताइएको छ। उताको प्रशिक्षणले खेलाडीहरुको क्षमता अभिवृद्धि हुने मुख्य प्रशिक्षक जगदिस भट्टले बताए।
नेपाली टोलीमा प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, अरुणा शाही, कमला पुन, रेश्मा भण्डारी, जानकी भण्डारी,उषा भण्डारी, लक्ष्मी पुन, हिरा केसी, उषा विष्ट, संगम महतो, शान्ति थारु, सुनिता खड्का, पुनम चन्द ,शान्ति तामाङ, सलिना श्रेष्ठ र आरती सुवेदी रहेका छन्। प्रशिक्षकमा जगदिश भट्ट सलिना श्रेष्ठ भरत यादव छन् भने र टिम व्यवस्थापकमा रीता कोइराला रहेकी छिन्।
प्रथम एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिप कात्तिक २२ देखि २७ गतेसम्म बंगलादेशमा आयोजना हुँदैछ भने १३ औं साग काठमाडौं र पोखरामा मंसिर १५ देखि २४ गतेसम्म आयोजना हुँदैछ।