काठमाडौं– चर्चित निर्देशक तथा कलाकार निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्का बैबाहिक जीवनमा बाँधिएको केही बर्ष भयो। वि.सं २०७२ सालको फागुनमा उनीहरुले प्रेम पछिको मागी बिबाह गरेका थिए। चलचित्र क्षेत्रमा नै सक्रिय रुपमा काम गरिरहेको यो जोडीले चलचित्र ‘घामड शेरे’मा एकसाथ काम गरेको छ। रियल लाइफमा निकै रुचाइएको यो जोडीले पहिलो पटक पूर्ण चलचित्रमा एकसाथ काम गरेका हुन्। चलचित्रमा निश्चल र स्वस्तिमा साली–भेना बनेका छन्।
सोमबार चलचित्रको ट्रेलर रिलिज कार्यक्रम थियो । जुन कार्यक्रममा निश्चल र स्वस्तिमा दुबै उपस्थित थिए । चलचित्रको पात्र शेरेलाई इंकित गर्दै पत्रकारले निश्चललाई प्रश्न सोधे–‘शेरे कहिले ‘डमरु’को बाबा बन्छ त?’ निश्चलले यो प्रश्नको उत्तर दिन गाह्रो माने। स्वस्तिमाले निश्चलको हातबाट माइक खोसिन र भनिन् ,‘हाम्रो डमरु ढिला आउँछ तर कडा आउँछ ।’
स्वस्तिमालाई निश्चल वास्तविक जीवनमा कत्तिको घामड छन् भन्ने प्रश्न पनि सोधियो। स्वस्तिमाले यो प्रश्नको उत्तर दिन गाह्रो भएको बताइन्। उनले भनिन् ‘गाह्रो पो भयो त मलाई। घामड कुन कुरामा भन्ने हुन्छ। चलचित्रमा भएको जस्तो त हुनुहुन्न। हाम्रो कुरामा केही हुनुहुन्छ होला तर, बाहिर कमै हुनुहुन्छ।’
‘उसो भए शेर सिंह कत्तिको हुनुहुन्छ?’, यो प्रश्नमा उनले भनिन् ‘घामड पनि थोरै, ‘शेर सिंह र स्याल सिंह दुवै’ शेरसिंह पनि थोरै नै हुनुहुन्छ । मसँग शेरसिंह अरुसँग स्यालसिंह हुनुहुन्छ होला जस्तो लाग्छ।’