काठमाडौं– पछिल्लो समय नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्मा चलचित्रमा निकै रुचाईएको जोडी हो। उनै नायक नायिका अभिनित चलचित्र ‘पोई पर्यो काले’ कात्तिकको ८ गतेबाट रिलिज हुँदैछ। यो चलचित्रलाई लिएर दुबै कलाकार उत्साहित छन्। कथावस्तु निकै मन परेकाले पनि यी दुइले यो चलचित्र साइन गरेको बताए।
बजारमा पूजा र आकाशले लगातार चलचित्रमा काम गर्दा विभिन्न खालका चर्चा समेत चल्ने गरेका छन्। पूजा र आकाश एकले अर्कालाई चलचित्रका लागि सिफारिश गर्ने गरेको आरोप समेत यी दुइलाई लाग्ने गरेको छ।
चौथो चलचित्रमा एकसाथ काम गर्ने तयारीमा रहेका पूजा र आकाशलाई यो आरोप लाग्दै गर्दा यी दुइले यस बिषयमा मुख समेत खोलेका छन्। पूजा भन्छिन् ‘हाम्रो जोडीलाई दर्शकले माया गर्नु भएको छ। यसैले पनि निर्माताले नै हामीलाई अफर गर्नुहुन्छ।’ आकाशले भने–‘सिफारिश नै गर्ने भन्ने त होइन। तर, कसलाई लिदा ठिक होला भनेर निर्माताले सोधेको खण्डमा मैले पूजाको नाम लिने गरेको छु। यो हाम्रो माग भन्दा पनि दर्शकको माग हो जस्तो लाग्छ।’
‘रामकहानी’मा एकसाथ काम गरेपछि नजिक भएको यो जोडीलाई दर्शकले निकै रुचाएका छन्। यो जोडीले ‘पोई पर्यो काले, सम्हालिन्छ कहिले मन’मा एकसाथ काम गरिसकेको छ। चाडै नै एक नयाँ प्रोजेक्टमा काम गर्ने सहमती समेत यी दुइले गरिसकेका छन्।