काठमाडौं - भनिन्छ, सँघर्ष नै सफलताको सुत्र हो। संघर्षबिना सफलता हात पार्नेहरु विरलै भेटिएलान्। डडेलधुराका महेन्द्र पुन एउटा यस्तो पात्र हुन् जो आफ्नो सपना साकार गर्नका लागि निरन्तर संघर्षरत छन्। उमेरले २२ वसन्त मात्र पार गरेका महेन्द्रको संघर्षको यात्रा भने लामो छ।
महेन्द्रले औपचारीक रुपमा मुर्तिको व्यापार गर्न लागेको ६ वर्ष भयो। उनी मुर्तिकला व्यवसायमानै आफ्नो भविष्य खोजिरहेका छन्। हाल उनी काठमाडौंमा बस्छन्। बालाजुमा उनको मुर्तिको पसल छ। महेन्द्र आफ्नै हातले मुर्ति बनाएर बेच्छन्। यसबाटै हुने आम्दानीले उनको ५ जना को परिवारको खर्च टरिरहेको छ।
यसरी लागे मुर्तिकलामा
महेन्द्र सानै छदा एकदिन आमा सँगै बजार गएका थिए। त्यहा उनले एउटा मानिस नचल्मलाई एकै ठाउमा उभिइरहेको देखें। नजिकै गएर स्पर्श गरे। निकैबेर एकटकले हेरेँ पनि आँखा झिम्क्याएको देखेनन्। उनलाई अचम्म लाग्यो। फर्किदा बाटोमा उनले आमासँग सोधे ‘त्यो मान्छे किन नचल्मलाएको र आँखा पनि झिम्क्याउँदो रहेनछ।’आमाले भनिन्, ‘धत लाटा त्यो मान्छे हो र? भीमदत्त पन्त भन्ने ठूला मान्छेको मूर्ति हो।’
आमाको जवाफले उनको मनमा मुर्तिकलाप्रति कौतुहलता जाग्यो। उनले घरमा नै पिठो र माटो प्रयोग गरेर स—साना मुर्तिहरु बनाउने प्रयास गर्न थाले। सँगै उनले चित्रकला पनि सिके।
सानैमा छुट्यो बुबाको साथ
महेन्द्रका बुवा अहिले यो सँसारमा छैनन्। उनी डेढ वर्षको हुँदानै बुबाको निधन भएको थियो। त्यसपछि उनको परिवारको जिवन कठिन र संर्घर्षपुर्ण बन्न पुग्यो।
कलिलै उमेरमा बुबाको अभिभावकत्व गुमाएका महेन्द्र कमजोर आर्थिक अवस्थाका कारण मामाघर बसेर पढ्न थाले। त्यहीबाट उनले एसएलसी पास गरे। अनि काठमाडौं भित्रिए।
व्यवसाय बन्यो रहर
मुर्तिकला केही समय अघिसम्म महेन्द्रको रहर थियो। काठमाडौं भित्रिएसँगै उनलाई गुजारा चलाउनका लागि धौ धौ पर्न थाल्यो। त्यसैले उनले आफुले जानेको सिपलाई नै आम्दानीको स्रोत बनाउने निर्णय गरे।
यसरी महेन्द्रको मुर्तिकला प्रतिको रहर व्यवसायको रुपमा परिणत भयो। ‘खान बस्नको लागि पैसा चाहिएको थियो,’ अतित सम्झदैँ महेन्द्र सुनाउँछन्, ‘जानेको काम भनेको त्यही मुर्ति बनाउने मात्र थियो। त्यसैले यसैलाई व्यवसाय बनाए।’
महेन्द्रले बिभिन्न थरीका मुर्तिहरुका साथै पेन्टिङहरु बनाउथे। हुन त उनले ५ कक्षा पढ्दै गर्दा बनाएको भगवान शिवको मूर्ति ५ हजारमा बेचेका थिए। स्कुल पढ्दा नै मूर्ति बनाएर ५० हजारजति कमाइसकेको उनी बताउछन्।
पढ्दै पढाउदै व्यवसाय
महेन्द्र काठमाडौं आएपछि व्यवसायसँगै आफ्नो अध्ययन पनि अघि बढाउन चाहन्थे। उनले लाजिम्पाटको सिर्जना कलेज अफ फाइन आर्टसमा भर्ना लिए। त्यहा उनी ललितकला (मुर्तिकला) विषय पढ्दैछन्।
मुर्तिकला एकातिर महेन्द्रको रुचिको विषय, अर्कातिर मुर्तिकला सम्बन्धिनै पढाई पनि। यसरी उनको मुर्ति बनाउने कला झन झन निखारिदै गयो।
महेन्द्र राजधानीका ७ वटा स्कुलमा कला विषय पढाउछन् पनि। ‘आफ्नो पढाई त छदैँ छ, आफुले पनि पढाउनु पर्ने भएर दिउँसो काम गर्ने फुर्सद नै हुँदैन,’ उनले भने, ‘रातभरिको निद्रा माया मारेर मूर्ति बनाउने गरेको छु।’ हुन त मुर्ति निर्माण बाट राम्रै आम्दानी गर्ने गरेका छन्, उनले।
मूर्ति निर्माण गर्दा प्रयोग भएका सामग्रीको आधारमा उनले मुर्तिहरुको मूल्य निर्धारण गर्ने गरेका छन्। ‘माटोबाट बनेको मुर्ति सस्तो हुन्छ, तामा, पित्तल वा ढुंगाबाट बनेको भए तुलनात्मक रुपमा महंगो हुन्छ,’ उनले भने। २२ वर्षकै उमेरमा पाएको यो सफलताबाट उनी सन्तुष्ट छन्। महेन्द्र भन्छन्, ‘सपना चाहिन्छ, सपना साकार पार्न इच्छाशक्ति पनि चाहिन्छ, यति भए अभावले छेक्दैन।’
आफ्नै खर्चमा नेताहरुको मुर्ति
महेन्द्रले हवाई दुर्घटनामा परि ज्यान गुमाएका तत्कालिन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको ६ फिटको मूर्ति बनाएका छन्। अधिकारीसँगै मृत्यु हुने यति यएरलाइन्सका मालिक आङछिरिङ शेर्पाको पनि मूर्ति उनले बनाएका छन्।
‘मैले यो मुर्ति पैसाको लागि नभई पिडितलाई सान्त्वना मिलोस भनेर बनाएको हुँ,’ महेन्द्रले भने, ‘मैले यो मुर्ति बनाउँदा कसैलाई पनि थाहा दिएको थिइन।’ यहि मुर्तिको लागि उनी पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट सम्मानित पनि भए।
अब भने उनी देशका शिर्ष नेताहरुको मुर्ति बनाउने योजनामा छन्। राष्ट्रपति विद्या देवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतको मुर्ति बनाउने तयारी गरिरहेका छन्।
सपना
काठमाडौंका गल्लीमा उनी धेरै भौंतारिए, बाँच्नकै लागि अनेक काम गरे। तैपनि मूर्तिकार बन्ने ध्येय छाडेनन्। हाल कला अध्ययन सँगसँगै ६ वटा स्कुलमा मूर्तिकला पढाउने उनको एउटै धोको छ– ‘डडेलधुरामा कला विद्यालय खोल्ने।’