बारा — मापसे सेवन गरी सार्वजनीक सवारी चलाउने पाँच चालकलाई प्रहरीले पक्राउ गरेको छ।
चेकजाँचका क्रममा खटिएको प्रहरीको टोलीले चालकले मदिरा सेवन गरी सवारी चलाइको पाइएकाले उनीहरुलाईे पक्राउ गरेको हो। साथै उनीहरुलाई अभद्र व्यवहारअन्तर्गत मुद्धा चलाउने तयारी समेत भएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले जानकारी दिए।
पक्राउ पर्नेमा वीरगन्ज–काँकडभिट्टा रुटमा चल्ने ना.७ख ४८८५ नम्बरको रात्रिबसका चालक, वीरगन्ज महानगरपालिका–९ गण्डकका जयराम साह तेली, वीरगन्ज–बेनी रुटमा चल्ने ना.७ख २५७२ नम्बरको रात्रिबसका चालक वीरगन्ज महानगरपालिका १० का पृथ्वीराज गिरी, ना.१ज २७१६ नम्बरको म्याजिक भ्यानका चालक हेटौँडा बस्तीपुरका किशोर स्याङ्तान, ना.५ ख ५६६७ नम्बरको ट्रकका चालक बारा निजगढका पुष्कल रोक्का र एचआर ३८९०३३८ नम्बरको भारीतय ग्यास बुलेटका चालक भारत विहारका विनोद दुबे रहेका छन् ।
यात्रुवाहक तथा मालवाहक सार्वजनिक सवारीका चालकले मादक पदार्थ सेवन गर्दा हुन सक्ने दुर्घटना तथा क्षति न्यूनीकरणका लागि इलाका प्रहरी कार्यालय सिमराले आफ्नो क्षेत्रभित्रका सडकमा चेकजाँचका क्रममा कदम चालेको डिएसपी पुरीले बताए । उनले भने, ‘उनीहरूलाई पक्राउ गरी कानुनी कारबाही अघि बढाएका छौँ ।’ पक्राउ परेका सबैलाई हिरासतमा राखी सार्वजनिक स्थानमा अभद्र व्यवहारअन्तर्गत मुद्दा चलाइएको उनले जानकारी दिए ।