काठमाडौं– नायक सुशिल श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘बादशाह जुट’ले मुस्लिम संघसँग माफी मागेका छन्। ट्रेलरमा मुस्लिम समुदायलाई आँच पुर्याउने दृष्यहरु राखेको भन्दै केही दिन अगाडि मुस्लिम समुदायले चलचित्रको टिमले गरेको कामप्रति आपत्ति जनाएको थियो।
मुस्लिम संघले एक पत्रमार्फत् ट्रेलरमा भएको जातिय विभेद, सामाजिक विभेद तथा जातिय हिंसा हुने जस्ता कुरा हटाउन माग गरेको थियो। उक्त पत्रको जवाफमा निर्माण कम्पनी ‘एच एण्ड वि फिल्मस्’ले विज्ञप्ति जारी गर्दै माफी मागेको हो।
विज्ञप्तिमा लेखिएको छ–‘ट्रेलरको ३ सेकेण्डदेखि बजेको अजानको आवाज र त्यसलगत्तै ८ सेकेण्डमा देखाइएको हात हतियारसँगै १३ सेकेण्डमा राखिएको आइ.एस.एसको आवाजले मुस्लिम समुदायलाई ठेस पुग्न गएकोमा हामी समस्त निर्माणपक्ष क्षमाप्रार्थी छौं। यो चलचित्रको कथा वा दृश्यले नेपाल भित्र वा बाहिर रहेका कुनै पनि समुदाय, धर्म तथा संस्कृतिलाई कुनै किसिमको अपमान गर्न खोजेको छैन।’
जारी विज्ञप्ति पछि मुस्लिम संघ र निर्माण पक्षबीच भएको भेटवार्तामा उनीहरु सहमतीमा पुगेका हुन्। चलचित्रमा भएका केही दृष्यहरु पनि सच्याउन मुस्लिम संघले माग गरेको छ। निर्माण पक्षले पनि ठेस पुग्ने कुनै पनि दृष्यहरु भए त्यसलाई हटाउने सहमति गरेको छ।
जोन सिंह राणाको निर्देशनमा बनेको यो चलचित्र कत्तिक १५ गतेबाट रिलिज हुदैँछ। चलचित्रमा सुशीलसँगै आमिर गौतम, रविन तामाङ, रोशी खड्का, रश्मी पाण्डे लगायतका कलाकारको अभिनय छ।