लाहान–विद्यालय व्यवस्थापन समितिका असन्तुष्ट सदस्य तथा स्थानीय अभिभावकले सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका– ३ स्थित माध्यमिक विद्यालयमा तालाबन्दी गरेका छन्।
विद्यालयमा उमेर हद नाघिसकेका व्यक्तिलाई कागजी कीर्ते गरी लेखापालमा सिरहाको भगवान्पुर गाउँपालिका– २ नहरारिगौल निवासी जागेश्वर सिंहलाई नियुक्ति गरेको आरोप लगाउँदै असन्तुष्ट सदस्य तथा स्थानीय अभिभावकले हिजो विद्यालयमा तालाबन्दी गरेका हुन्।
उमेर हद नाघे पनि सिंहलाई नियुक्ति दिएको भन्दै विद्यालय व्यवस्थापन समितिका सदस्यद्वय नथुनी साह र नारायण यादवको नेतृत्वमा स्थानीयले विद्यालयमा तालाबन्दी गरेको स्थानीयले बताएका छन्।
विद्यालयको प्रशासन शाखामा गरिएको तालाबन्दीका कारण विद्यालयको प्रशासनिक कामकाज प्रभावित भएको छ। यता विद्यालयका प्राधानाध्यापक घुरन यादवले विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार पछिल्लो १५ वर्षदेखि विद्यालयमा कार्यरत सिंहलाई काममा राखिएको बताएका छन्। (रासस)